कोरोना महामारीले होटल ब्यवसाय संकटमा नपरेको भए विशाल बानियाँ राजमार्गको होटलको भान्छामा खाना पकाउने (कुक) काममा ब्यस्त हुन्थ्ये।

पोखरा–काठमाण्डौ सवारीसाधनमा आवतजावत गर्ने यात्रुलाई इच्छाअनुसारका परिकार तयार गर्ने बानियाँलाई ६ महिनाको बिचमा कोरोनाको महामारीले पृथ्वी राजमार्ग अन्तरगत तनहुँ जिल्लाको एक्लेफाँटबाट म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा ल्यायो ।

कोरोनाले होटल बन्द भएपछि बानियाँको दैनिकी नै परिवर्तन भएको छ। ३ बर्षसम्म खाना पकाउने गरेका बानियाँले रत्नेचौरको भुवानेमा दिनेश रावलले सुरु गरेको भैसीपालनमा झिसमिस उज्यालो हुन नपाउँदै दुध दुहुन हातमा बाल्टी बोकेर गाईभैसीको छेउमा पुग्छन् ।

गाउँघरमा गाईभैसीको अगाडी समेत नपरेका बानियाँले होटलका मालिक समेत रहेका रावलसँगै म्याग्दीमा आएर पशुपालनमा रमाइरहेका छन्। ‘होटलमा खाना पकाउने हातले दैनिक गाईभैसी दुहुनुपर्छ,‘बजारमा घरघरमा दुध पुर्याएर फर्किनुपर्छ’बानियाँले भने ।

उनले विहान साढे ४ बजे उठेर दुध संकलन गरी बागलुङमा घरघर र डेरीमा छोडेर फर्किने गरेको बताए। ‘होटलको भान्छा कोठामा भन्दा पशुपालनको गोठमै रमाइरहेको छु,‘कोरोनाले होटलबाट विस्थापित भएपनि यहाँ कमाएको पैसाले घरमा एउटा भैसी किन्ने योजना छ’बानियाँले भने ।

‘पशुचौपाया देख्दा डर लाग्थ्यो, अहिले साथीजस्तै भएका छन्’ बानियाँले भने । मासिक १५ हजार तलबसुविधा लिने गरेका बानियाँले अव होटलमा कुक पेशामा नफर्किने बताए । ‘होटलमा परिकार मात्रै पकाउन सकिन्छ, यहाँ किसानको दुख र संघर्षलाई नजिकबाट चिन्न पाइन्छ’ उनले भने। बानियाँसँगै होटलमा काम गरेका थप ३ जना मजदुर समेत पशुपालनमै काम गर्न आएका छन् । करिब ५० लाखको लगानीमा गाईभैसी पालन सुरु गरेका रावलले समेत होटलका कर्मचारीलाई समेत जागिर गुम्न नदिने गरी पशुपालनमै ल्याएको बताए । ‘सेतो एप्रोनमा सजिएर ग्राहकको सेवामा ब्यस्त कर्मचारीहरु गोठमा काम गरिरहेका छन्,‘उनीहरुलाई होटलमा भन्दा राम्रो तलब दिएको छु’ रावलले भने । उनले निकट भविस्यमा बाख्रा र कुखुरापालनका साथै होटल ब्यवसाय समेत सुरु गर्ने बताए । बेनी–बागलुङ सडकखण्ड अन्तरगत रत्नेचौरको भुवाने आसपासका क्षेत्रमा होटल ब्यवसाय समेत तिब्र रुपमा विस्तार भइरहेका छन् भने पशुपालन र कृषि क्षेत्रमा समेत स्थानीयको आर्कषण बढेको छ ।

 

Leave a Reply