राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलले म्याग्दीका योजनाहरुलाई प्राथमिकता दिने बताएका छन् । हिमाली जिल्लामा सूचिकृत भएपनि बजेट र योजनामा कम प्राथमिकतामा परेको गुनासो आइरहेको बेलामा उपाध्यक्ष कँडेलले आगामी दिनमा आफुँले म्याग्दीका नयाँ योजनामा प्राथमिकता तथा पुरानालाई समयमै सम्पन्न गर्ने गरी ताकेता गर्ने बताएका छन् ।

संघीय सरकारको समपुरक र विशेष अनुदानमा सञ्चालित आयोजनाहरुको अनुगमनका क्रममा पर्वत र बागलुङ हुँदै म्याग्दी आएका उपाध्यक्ष कँडेलले तीनवटै तहको समन्वयमा ठूला आयोजनाहरु सञ्चालन हुने बताए । उनले मुलुकमा भएका तीनवटा तहले सञ्चालन गर्ने विकासे आयोजनाहरुमा डुब्लीकेसन हुनेहुँदा आगामी दिनमा ठूला आयोजनाहरु तीनवटै सरकारको सहलगानीमा सञ्चालन गरिने बताए ।

‘यसपटकको म्याग्दी भ्रमण उपलब्धीमुलक हुनेछ,‘धेरै भन्दिन, पहिलेजस्तो अवको अवस्था हुदैन’ उनले भने । शनिबार म्याग्दीको बेनीमा सरोकारवालाहरुसँग कुरा गर्दै उनले ठूला सडक लगायतका ठूला योजना तथा आयोजनाहरु सबैको उपस्थितिमा होस् भन्ने हेतुले भर्खरै कार्यविधि पास भएको बताए ।

तीनवटै सरकारको सहलगानीमा आयोजनाहरु सञ्चालन हुने बताउँदै अधिकांश क्षेत्रमा योजना पार्नका लागि मरिमेट्ने गर्ने तर योजना परिसकेपछि त्यसमा चासो नहुँदा योजनाहरु सम्पन्न हुन समय लागेको समेत बताए ।

सोही अवसरमा प्रधानमन्त्रीका विकास तथा योजना विज्ञ सल्लाहकार गजेन्द्र थपलियाले जिल्ला भित्रका विकासे योजनाहरुको अनुगमन अनि त्यसको अवस्था थाहा पाउनका लागि आफूहरु निरीक्षणमा निस्किएको बताए । योजना तथा आयोजनाहरुमा नतिजामुखी विकास हुनुपर्ने बताउँदै उनले प्रधानमन्त्री आफै सबै स्थानमा पुग्न सम्भव नभएकोले उहाँकै निर्देशनमा आफूहरु जिल्ला आएको जानकारी दिए ।

योजना आयोगका उपाध्यक्ष कँडेलसहितको टोलीसँगको भेटघाटमा संविधान सभा सदस्यद्वय नवराज शर्मा, गोविन्द पौडेल, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदीले जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना तथा योजनाको अवस्था, विकासे गतिविधि, निर्माणाधीन सडक तथा भवनको भौतिक प्रगतिका बारेमा जानकारी गराएका थिए ।

उपाध्यक्ष कँडेल, प्रधानमन्त्रीका विकास तथा योजना विज्ञ थपलिया लगायतको टोलीले बेनी–जोमसोम–कोरला सडक आयोजना, कालीपुल बसपार्क, राहुघाट जलविद्युत आयोजना, बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरमा निर्माणाधीन मोटरेबल पुल, बेनी अस्पतालको निर्माणाधीन भवन र म्याग्दी बहुमुखी क्याम्पसको स्थलगत निरीक्षण गरेको थियो ।

Leave a Reply