संसारकै सबैभन्दा गहिरो गल्छी बनाएर बग्ने कालीगण्डकी नदीको खोँचमा मनोरञ्जन लिनकै लागि आन्तरिक पर्यटकहरूको ओइरो लागेको छ । पर्वत सदरमुकाम कुश्मा बजार र बाग्लुङको बलेवा क्षेत्र जोड्ने गरी निर्माण सम्पन्न भएको एसियाकै अग्लो बञ्जी जम्पमा अहिले पालो कुरेरै मज्जा लिनेहरुको लर्को लागिरहेको छ ।

विगतका समयमा अग्ला पुलहरु अवलोकनकै लागि पर्वतसम्म आउने पर्यटकहरु अब भने पहिलो प्राथमिकतामा बञ्जी जम्पलाई राखेर आउन थालेका छन् । पाँच वर्षभन्दा बढी समय लगाएर कालीगण्डकी नदीमाथि निर्माण सम्पन्न भएको दुई सय २८ मिटर अर्थात सात सय ४८ फिट अग्लो बञ्जी जम्पले यतिबेला जिल्लाकै पर्यटनलाई महत्वपूर्ण टेवा पुर्याएको छ ।

कोभिड-१९ को महामारीमा पनि देशका विभिन्न स्थानबाट बञ्जी जम्प गर्न र स्वीङ खेल खेल्नकै लागि पर्वतसम्म आउने गरेका छन् । हेर्न आउनेहरुको भीड पनि उत्तिकै हुने गरेको छ ।

निर्माण कम्पनीले बञ्जी मात्रै नभएर एड्भेञ्चर परियोजनाका रुपमा विश्वकै अग्लो स्वीङ, स्काइ साइकलिङ, गुलेली पिङ र रिसोर्ट समेत सञ्चालनमा ल्याएको छ ।

एड्भेञ्चर बञ्जी 

कालीगण्डकी नदीको खोँचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने गरी निर्माण भएको पुल पाँच सय २५ मिटर लामो र दुई सय २८ मिटर अग्लो छ । निर्माण कम्पनीले यस पुलबाट हुने साहसिक खेललाई विश्वकै दोश्रो अग्लो स्थानबाट हुने खेलको रुपमा समेत दाबी गर्दै आएका छन् ।

अहिले विश्वकै अग्लो बन्जी मकाउमा सात सय ६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँधमाथि सात सय २० फिट उचाइमा रहेको निर्माण कम्पनी द क्लिफ प्रालिका अध्यक्ष राजु कार्की बताउनुहुन्छ । स्विट्जरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रुपमा स्थापित गर्न सफल भएको सञ्चालकहरुको दाबी छ ।

बञ्जीसँगै कम्पनीले दुवै खेल एकै पटक सञ्चालन गर्न सकिने गरी स्वीङ पनि निर्माण गरेको छ । निर्माण कम्पनीले विश्वकै अग्लो दावी गरेको स्वीङ बञ्जी जस्तै तर लठ्ठा कम्मरमा बाँधेर पुलबाट हाम फाल्ने र मच्चिने खेल हो ।

बञ्जी जम्प गर्नकै लागि रुपन्देही जिल्लाबाट आएका युवा सौरभ शर्माले आफूलाई फरक  आनन्दको अनुभूति भएको बताउनुभयो । बञ्जी गरिसकेपछि उहाँले भन्नुभयो, ‘बञ्जी विशेषगरी दुई मिनेटको खेल हो, तर यो दुई मिनेट जीव भर स्मरणयोग्य रहिरहनेछ ।’

कसरी निर्माण भयो बञ्जी ?

२०७३ सालदेखि यो परियोजना निर्माण सुरु भएको हो ।  सुरुमा सिन्धुपाल्चोक जिल्ला घर भएका राजु कार्कीले सम्भाव्यताका अध्ययन गर्दै परियोजना सुरु गर्ने जमर्को गरे पनि पछि पर्वत जिल्लाका व्यवसायीहरु युवराज जोशी, नेत्र पराजुली, राजन जोशी, नवराज शर्मा र फ्रान्सेली नागरिक फ्लोरेन्सको लगानीमा यो परियोजना निर्माणले गति लिएको हो ।

कम्पनी दर्ता गरेर निर्माण सुरु भएको परियोजना यही कात्तिकमा बल्ल पूर्णता पाएको हो । सुरुमा २० करोडको लागतमा परियोजनालाई सम्पन्न गर्ने लक्ष्य लिए पनि भौगोलिक समस्या र कोभिड-१९ को महामारीका कारण २८ करोड लगानी पुगेको लगानीकर्ताहरु बताउँछन् । निर्माणका लागि प्रभु बैंकले समेत ऋण लगानी गरेको छ।

अहिले बञ्जी जम्प वा स्वीङ दुबै खेल खेल्न चाहनेहरुका लागि  ६ हजार पाँच सय रुपैयाँ तोकिएको छ । पोखरादेखि कुश्माको दुईतर्फी गाडीको सुविधासहित बञ्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको छ । १५ कात्तिकदेखि दुवै खेल र रिसोर्ट पूर्ण रुपमा सञ्चालनमा आएका छन् भने बलेवा  क्षेत्रमा निर्माण भएको करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टतर्फ निर्माण भएको गुलेली शैलीको पिङमा पनि उत्तिकै आकर्षण थपिएको छ ।

स्काइ साइक्लिङ

​स्टील कोर केबल प्रयोग गरी स्काइ साइक्लिङ तयार गरिएको छ । विश्वकै सबैभन्दा उचाइमा सञ्चालित कालीगण्डकी खोँचको स्काइ साइक्लिङ २ सय २८ मिटर अग्लो छ भने लम्बाइ तीन सय मिटर छ । दुईतर्फी तीन सय मिटर लम्बाइ रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लिङ गर्न मिल्ने कम्पनीका सञ्चालक नेत्र पराजुलीले बताउनुभयो ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइक्लिङ तयार गरिएको र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने उहाँको भनाइ छ । साइक्लिङका लागि  आवश्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गर्नेछ ।

साइकल र यात्री दुवैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ । लिकमा रेल गुडेझैँ फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुदाइन्छ । स्काइ साइक्लिङको सञ्चालन भने केही महिनापछि गरिने कम्पनीका अध्यक्ष राजु कार्कीले बताउनुभयो ।

कसरी पुग्ने ?

पर्वतमा सञ्चालित द क्लिफ प्रालि पोखराबाट ५५ किलोमिटर र अन्नपूर्ण बेसक्याम्पको गेटवे नयाँ पुलबाट १५ किलोमिटर दूरीमा अवस्थित छ । काठमाण्डौ, चितवन, पोखराबाट पर्वत कुश्मासम्म सजिलै सार्वजनिक बस पाइन्छ । पोखराको बाग्लुङ बसपार्कमा गएर कुश्मासम्म पुग्ने ’सेयरिङ ट्याक्सी’ मा पनि जान सकिन्छ ।

द क्लिफमै गाडीसहितको प्याकेज बुक गरेर  पोखरा–कुश्मा दुईतर्फी गाडीको सुबिधा लिन सकिन्छ । जम्प नगर्ने तर हेर्न मात्र जान चाहने व्यक्तिले २ हजार रुपैयाँ तिरेर ’गो एन्ड सी’ प्याकेज रोजेर दुईतर्फी गाडीको सुविधा लिन सक्छन् । Source: ujyaaloonline.com

Leave a Reply