जैमिनी नगरमा गरिएको माटो परीक्षणमा वडा नं. १०मा अम्लियपन भेटिएको छ ।
माटोको उत्पादकत्व खोजी गर्न जैमिनीले सुरु गरेको माटो परीक्षण शिविरमा ल्याईएका अधिकांस नमुनामा अम्लिय पन धेरै रहेको पाईएको हो । शुक्रवारदेखि सुरु भएको परीक्षण शिविरमा जाँच भएका मध्ये अधिकांश नमूनामा अम्लियपन देखिएको हो ।
नगरपालिकाको वडा नं. १० राङ्खानीका किसानले ल्याएको माटोको नमूनामा अम्लियपन धेरै रहेको पाईएको कृषि शाखाका प्राबिधिक रविन्द्र शर्माले जानकारी दिए । शिविरको पहिलो दिन शुक्रबार मात्रै १ सय २० नमुना परीक्षण भएको थियो । ‘माटोमा खाद्यतत्वको उपलव्धता भएको भेटियो तर अम्लिय पन अधिकांश नमुनामा छ’ शर्माले भने ‘जैमिनीमा सबै वडामा हामिले खेतीगर्ने तरिका एकै खालको छ, सबैमा यस्तै समस्या हुन सक्छ ।’ किसानको खेतबारीमा रहेको माटोमा भएको खाद्यतत्व तथा अम्लीयपनको उपलब्धता थाहा पाउनका लागि माटो परीक्षण अनिवार्य रहेको उनले बताए ।
माटोको अवस्था थाहा लागेमा मात्रै सुधार गर्न सकिने उनले बताए । माटो तथा मल परीक्षण प्रयोगशाला, गण्डकी प्रदेशकी प्राविधिक सहायक जमुना भण्डारीका अनुसार विशेषगरी यहाँको माटोमा अवश्यकता भन्दा धेरै अम्लियपन छ । ‘प्राविधिक हिसाबले माटोको मापन गर्दा १–१४ पिएच (अम्लियपन र क्षारीयपन) हुनेमा ६.५ देखि ७.५ पिएच लाई तटस्थ मानिन्छ’ उनले भनिन् ‘सबै बालिलाई उत्तम हुने माटोको रुपमा मानिने र ६.५ पिएच भन्दा तल अम्लीय पन तथा ७.५ देखि माथि १४ पिएचसम्म क्षारीय भनेर मापन गरिन्छ ।’ जैमिनीमा जाँच भएका नमूनामा तटस्थ एउटा पनि नभएको उनले बताईन् । अधिकांश नमुनामा २.० पिएचसम्म देखिनु अम्लियपनको मात्रा अत्याधिक हुनु हो र जुन किसानको लागि दुःखको कुरा भएको उनले बताउँछिन् । नगरको कृषि शाखाले जैमिनी नगरपालिका भित्रका १० वटै वडामध्ये कम्तिमा एक वडाबाट १ सय किसानको नमूना आयो भने पनि कम्तिमा १हजार किसानको माटो परीक्षण हुने लक्ष्य लिइएको छ ।
मंसिर १२ गतेसम्म चल्ने उक्त कार्यक्रममा किसानको माटोको रिपोर्टअनुसार अम्लियपन बढी भएको किसानलाई कृषिचुन अनुदान दिइने कृषि शाखाले जनाएको छ ।

Leave a Reply