????????????????????????????????????

म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगंगा गाउँपालिका-३ जोड्ने रघुगंगा नदीमा निर्माणधिन अबस्थामा रहेको
मोटरेबल पुलको निर्माणकार्यलाई तिब्रता दिन दवाव दिइएको छ ।

तोकिएको समयमै सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति नभएको यस योजनाको सहायक ठेकेदार विवेक निर्माण कम्पनीका सचिन क्षत्री योजनालाई अलपत्र बनाएर सम्पर्कविहिन भएपछि विभिन्न निकायबाट दवाव दिइएपछि ठेकेदारले काम सुरु गरेको छ ।

हिउँदयाम सुरु हुँदा समेत सहायक ठेकेदार कार्यक्षेत्रमा परिचालन नभएपछि मुख्य ठेकेदार कम्पनी कालिका–गजुरमुखीले नै योजनालाई अघि बढाएको जनाएको छ ।

राहुघाट नदीमा ओपन फाउण्डेशन प्रिस्टेड प्रविधिको पुल बनाउने योजनामा ढिलासुस्ती भएपछि आईतवार प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले स्थलगत निरिक्षण सहित निर्माण कम्पनीका प्रतिनिधिसंग छलफल गरेका थिए । ‘यस आयोजनालाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिएको छु’प्रजिअ उमाकान्त अधिकारीले भने ।

उनले योजनामा आउने बाह्य समस्यालाई प्रशासनले सहजीकरण गरिदिने बताउँदै यस सिजनमा जनशक्ति, निर्माण सामाग्री र उपकरण थप गरेर कामलाई गति दिन कम्पनीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेलाई निर्देशन दिएका थिए । पुलनको दुबैतर्फका पिल्लर उठाउने काम सकिएको र आगामी चैतभित्रमा अधिकाँश निर्माण कार्यलाई सम्पन्न गर्ने कार्यतालिका बनाएर काममा जुटेको न्यौपानेले बताए ।

प्रजिअ अधिकारी, प्रहरी नायब उपरिक्षक किरणजंग कुँभर, शसस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक हरिबहादुर गुरुङ लगायतको टोलीले निर्माण कम्पनीका प्रतिनिधि र आयोजनाका प्राविधिकहरुसंग छलफल समेत गरेका थिए ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत रघुगंगा नदीमा ४० मिटर लामो र ११ मिटर चौडाई भएको मोटरेबल पुल बनाउन रु छ करोड २४ लाख तीन हजार ८२५ लागतमा ठेक्का सम्झौता भएको थियो । २०७४ असारमा भएको ठेक्का सम्झौताको म्याद २०७६ चैत २६ गतेसम्म थियो ।

यसैबिच गलेश्वर बसपार्क देखि पुलसम्मको सडक कालोपत्रे गर्न ठेक्का लिएको गजुरमुखी निर्माण कम्पनीले पुल संगै सडकको कामलाई समेत अघि बढाउने जनाएको छ ।

रु चार करोड ८५ लाख दुई हजार ५८ मा १ किलोमिटर १०० मिटर सडक कालोपत्रे गर्न २०७५ असोज २५ गते भएको ठेक्का सम्झौताको म्याद २०७७ असोज २४ गते सकिएको छ। ११ मिटर चौडाईमा कालोपत्रे गर्ने सम्झौता छ । मोटरेबल पुलको दुई तर्फ पिल्लर उठाउने र सडक फराकिलो बनाएर पर्खाल लगाउने काम मात्र सकिएको छ । पुलको ढलान गर्न तथा सडकमा नाली, टेवा पर्खाल, ग्राभेल र पिच गर्ने काम बाँकी छ ।

Leave a Reply