कोरोना संक्रमणदर घट्दै गएपछि म्याग्दीको मालिका गाउँपालिकाले सोमबारदेखि नियमित पठनपाठन सुचारु गर्ने भएको छ । कोरोनाको जोखिमसँर्गै गत बर्षको चैत्र महिनादेखि बन्द रहेका विद्यालयमा जनस्वास्थ्यको मापदण्डको पूर्णरुपमा कार्यान्वयन तथा कोरोना रोकथाम सम्बन्धि योजना तयार गरी पठनपाठन नियमित रुपमै सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

आइतबार अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले हरेक विद्यालयमा एक शिक्षकलाई कोभिड–१९ फोकलपर्सन बनाउने, दैनिक विद्यालयको अवस्था र विद्यार्थीको स्वास्थ्यका बारेमा पालिकालाई जानकारी दिने, कोरोनासँग मिल्ने लक्षण भएका विद्यार्थीको पहिचान गरी घरमै राख्ने, नियमित गतिविधिलाई सञ्चालन गर्ने गरी विद्यालय खोल्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् ।

‘जनस्वास्थ्यको मापदण्डको पूर्णरुपमा प्रयोग गरिन्छ,‘फोकल पर्सनले नियमित विद्यालयको जानकारी पालिकामा दिनुपर्छ’ उनले भनिन् । गाउँपालिकाले हरेक विद्यालयमा अनुगमन सहितका योजना समेत बनाएको छ । पालिका अध्यक्ष रोकाले विद्यार्थी र शिक्षकलाई सुरक्षित भएर पठनपाठनका गतिविधि सञ्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी निर्णय गरिएको बताए ।

‘जोखिम कायमै छ,‘सबै सतर्कता अपनाएर भएपनि पठनपाठन सुचारु गर्नुपर्ने अवस्था भयो’ उनले भने । पालिका भित्र रहेका विद्यालयलाई मास्क, सेनिटाइजर लगायतका सुरक्षाका मापदण्डको पूर्वतयारी गरी पठनपाठन सुचारु गर्न अनुरोध गरिएको उनले बताए । मालिकामा ३८ सामुदायिक र ४ निजी विद्यालय रहेका छन् ।

Leave a Reply