म्याग्दीको रघुगंगा गाउँपालिकाले शनिबार बाहेकका हुन  राष्ट्रिय बिदामा समेत विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको जोखिमले ८ महिनासम्म बन्द भएका विद्यालयको पठनपाठन सुचारु गर्ने गरी शनिबार बाहेक अन्य सार्वजनिक विदामा समेत विद्यालयको पठनपाठन नरोक्ने निर्णय गरेको हो ।

गाउँपालिकामा बसेको शिक्षा समितिको बैठकले विद्यालय खोल्न अभिभाव, राजनीतिक दल, सरोकारवाला निकायलाई जानकारी सहितको प्रतिबद्धता, आवश्यक सुरक्षा सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए।‘हरेक विद्यालयले कोरोनाको जोखिमबाट जोगिन आवश्यक मापदण्डको पालना गर्नुपर्छ,‘नियमित अनुगमनलाई पनि प्राथमिकता दिएका छौ’ उनले भने ।

शिक्षा समितिले ५० जना भन्दा कम विद्यार्थी भएका विद्यालयमा १० देखि ४ बजेसम्म सञ्चालन गर्ने, ५० भन्दा बढी विद्यार्थी भएकामा विद्यार्थीको रोल नं अनुसार जोर–विजोर प्रणाली अन्तरगत सञ्चालन गर्ने, कक्षा १० को कक्षा नियमित सञ्चालन गर्ने, शनिबार बाहेक अन्य सार्वजनिक विदामा समेत नियमित विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा अधिकृत कृष्णप्रसाद सुबेदीले बताए ।

विद्यालयलाई मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने अधिकृत सुबेदीको भनाई छ । कोभिड–१९ महामारीका बेला संक्रमण सर्ने सम्भावना कायमै रहने भएकाले आवश्यक सर्तकता भने अपनाउनुपर्ने भन्दै नियमित अनुगमनको योजना समेत बनाएको जनप्रतिनिधिको भनाई छ ।

बालबालिका विद्यालय गएपछि समुहमा बस्ने, विद्यार्थी र शिक्षक तथा विद्यार्थी–विद्यार्थीबीचको भौतिक दूरी कायम राख्ने लगायतका विषय स्वास्थ्यका हिसाबले गम्भीर भएकाले विद्यालयले पूर्णरुपमा कार्यान्वयनको सम्भावना न्यून रहेकाले कडाई गर्नुपर्ने सरोकारवाला निकायको भनाई छ । विद्यालय सञ्चालन गर्ने विषय गम्भीर र संवेदनशील भएकाले मापदण्ड अनुसार कार्यान्वयनको अनुगमनमा जोड दिइएको छ ।

Leave a Reply