म्याग्दीको रघुगंगा गाउँपालिकाले निर्माण गर्न लागेको १० शैया क्षमता रहने अस्पतालका लागि वडा नं १ बेगखोलाका स्थानीयले निःशुल्क जग्गा दिएका छन् । नेपाल सरकारले १ स्थानीय तहमा १ अस्पताल बनाउने अवधारणा अनुसार अस्पताल बनाउन आवश्यक पर्ने नौ रोपनी जग्गा स्थानीयले निःशुल्क उपलब्ध गराएका हुन् ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको लागि बेगखोला देउरालीका लोक बहादुर फगामी, हिम बहादुर फगामी, मेजन फगामीले ५ रोपनी र देउ बहादुर गर्बुजा, टुक बहादुर गर्बुजा, दान बहादुर गर्बुजा र जित बहादुर पुर्जाले ४ रोपनी जग्गा उपलब्ध गराएको वडा अध्यक्ष बिलबहादुर फगामीले बताए ।

‘अस्पताल बनाउन आवश्यक जग्गा प्राप्त भइसकेको छ,‘बस्ती नजिकै सडक सञ्जालले जोडिएको स्थानमा जग्गा भएकाले बिरामीलाई सहज हुन्छ’ उनले भने । स्थानीयले आसपासका क्षेत्रमा आवश्यक परेमा थप जग्गा समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

जग्गादाताले विगतमा समेत गाउँमा विकास निर्माण, सडक, सामुदायिक भवन लगायतका क्षेत्रमा ठूलो सहयोग गरेको वडा अध्यक्ष फगामीको भनाई छ । अस्पतालका लागि दिन लागेको जग्गाको सोमबार प्रजिअ उमाकान्त अधिकारी, गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदको टोलीले स्थलगत अनुगमन समेत गरेका छन् ।

अनुगमनको क्रममा अस्पताल भवन बनाउनु अगाडी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को प्रतिवेदन, नाँचजाच प्रतिवेदन, माटो परीक्षण, जग्गा रजिस्ट्रेसन पास गर्ने लगायतका आवश्यक प्रक्रियालाई सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ । विज्ञ सहितको टोलीको स्थलगत अनुगमन समेत हुने गाउँपालिकाले जनाएको छ ।

कूल १० करोड बढी लागत अनुमान गरिएको अस्पताल निर्माणमा चालू आवका लागि ८५ लाख बजेट प्राप्त भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । ‘भौतिक पूर्वाधारका कामलाई तिब्रता दिन्छौ,‘विगतमा जग्गा ब्यवस्थापन नहुदाँ समस्या भएको थियो’ अध्यक्ष भण्डारीले भने । स्थानीयले उपलब्ध गराएको जग्गाको मुल्याङ्कन गरी जग्गादातालाई सम्मान समेत गरिने जनाइएको छ।

Leave a Reply