गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसबाट निर्वाचित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम्बरहादुर पुनले ‘मित’ लगाए ।

करिब एक बर्ष अगाडी अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण महोत्सवमा प्रमुख अतिथिको रुपमा उपस्थित मुख्यमन्त्री गुरूङले कार्यक्रमस्थलमै मित लगाउने गरी तयारी गरिएपनि अन्तिममा स्थगित भएपनि पटक–पटकको प्रयासपछि सोमबार पिताको किरिया बसेका गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनलाई मुस्ताङमा भेटेर फर्कने क्रममा गुरुङ र अध्यक्ष पुनले मित लगाएका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको राजनीतिक किचलोका बिच म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा पुगेका गुरुङको म्याग्दी यात्रालाई प्रधानमन्त्री केपी शर्मा ओली निकटसँगको भेटघाटको चर्चाको रुपमा लिइएपनि बेनीका होटलमा केहीसमयको बसाईपछि उत्तरी म्याग्दीमा पुगेका थिए ।

मितेरी साइनो लगाउन मुख्यमन्त्रीको चाहना र गाउँपालिका अध्यक्ष पुनले समेत मित लगाएपछिका हरेक सम्बन्ध बहुमूल्य हुन्छ भन्दै मित लगाएपनि परिवारभित्र नै सिमित राख्ने प्रयास गरेपनि एकाएक सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।

नेकपा भित्रको किचलोसँगै फरक राजनीतिक आस्थाबाट पालिकामा निर्वाचित प्रमुखसँगको मितेरी साइनोको गलत सन्देश जाने भन्दै मुख्यमन्त्रीको निजी सचिवालयले गोप्य राख्न खोजेको थियो । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री गुरुङ नेकपाका प्रदेश इञ्चार्ज हुन भने पर्यटन ब्यवसायी, भारतीय सेनाबाट अवकासप्राप्त पुन नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

मितेरी साइनो दुई व्यक्तिले मित्रता गाँस्नेसँग मात्रै सीमित नभई यो विशेष प्रकारको सम्बन्ध भएको गाउँपालिका अध्यक्ष पुनले बताए। उनले चुनाव अगाडी दुवैजना बिच चिनजान थिएन, जनप्रतिनिधि भएपछि कार्यक्रममा सहभागि हुने क्रममा अनुहार समेत मिल्ने भएकाले दुई भाइ जस्तै भनेर समेत चर्चा गर्न थालेपछि दुवैपक्षको नजिक रहेकाले मित लगाउन गरेको प्रस्ताव स्वीकार गरेको बताए ।

मितेरी साइनो निश्चित नैतिकता, मूल्य–मान्यता, जिम्मेवारी, प्रतिबद्धता, पारस्परिकतासँग जोडिएको उनले बताए । विकास निर्माण सहित विभिन्न योजनाहरुमा आफ्नो गाउँपालिका अध्यक्ष पुनसँग योजना मिल्ने भएकाले पनि मित लगाएको मुख्यमन्त्री गुरुङको भनाई छ । पछिल्लो एकबर्ष यता मुख्यमन्त्री र गाउँपालिका अध्यक्ष पुन बिच भेटघाट निकै बाक्लो छ।

मित लगाउनु भनेको पुस्तौँसम्म सम्बन्धलाई निरन्तरता दिनु भएकाले सम्बन्धलाई ब्यक्तिगतभन्दा परम्पराको जर्गेना र पालिकाको हितमै प्रयोग गर्ने अध्यक्ष पुनको भनाई छ । मित लगाउने कार्यक्रममा म्याग्दी क्षेत्र (क)बाट निर्वाचित प्रदेश सांसद बिनोद केसी, मंगला र मालिका गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी र खरमाया बिटालु पनि सहभागी थिए। कार्यक्रममा सहभागि भएकाले पनि सामाजिक सञ्जालमा मुख्यमन्त्री गुरुङ र पालिका अध्यक्ष पुनले लगाएको मितको तस्वीर हालेका छैनन् ।

Leave a Reply