म्याग्दीको मंगला गाउँपालिका-४ बुकेनीकी सपना रोका मगर २०२० को विश्वकै प्रेरणादायी र प्रभावशाली महिलाहरूको सूचीमा परेकी छिन्। बिबिसीले तयार पारेको सूचीमा नेपालबाट उनी मात्रै परेकी हुन् । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने एक सय महिलालाई सो सूचीमा समावेश गरेको छ ।

बिबिसीले तयार पारेको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सान्या मरिनदेखि अवतार र मार्बल सिनेमाकी नायिका मिचेल एओ, कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लगाउने अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान विभाग प्रमुख सारा गिल्बडए समेत रहेको टोलीमा पहिलोपटक १८ बर्षिया रोका मगर समेत परेपछि म्याग्दीमा खुसीयाली छाएको छ ।

बिबिसीले प्रत्येक वर्ष विश्वको विभिन्न स्थानमा रहेको आफ्नो प्रसारण र तिनमा कार्यरत रिपोर्टरहरूको सहयोगको माध्यमले विश्वको प्रेरणादायी र प्रभावशाली एक सयजना महिलाको सूची तयार पार्ने गरेको छ । सपनाले आफू सय उत्कृष्ट महिलाभित्र पर्दा खुसी भएको बताएकी छन् । सपनासँग नयाँ पत्रिकार दैनिकले गरेको छोटो कुराकानी

बिबिसीजस्तो संसारको प्रतिष्ठित मिडियाले जारी गरेको ‘विश्वका एक सय प्रभावशाली र प्रेरणादायी महिलाको सूची’मा पर्नुभएको छ । फिनल्यान्डकी प्रधानमन्त्रीदेखि कोभिडको भ्याक्सिन पत्ता लागउने वैज्ञानिकको सूचीमा तपाईं १८ वर्षकी किशोरी पनि पर्नुभएको छ, यो उपलब्धि कसरी सम्भव भयो ? 

उपलब्धिको आफ्नै पृष्ठभूमि हुन्छ । पृष्ठभूमि गौरवपूर्ण हुन्छ भन्ने पनि छैन, पीडादायी पनि हुन्छ । तर, सुख वा दुःखलाई कसरी स्विकार्ने भन्ने विषय प्रमुख हो । करोडौँ निर्जीव ग्रहमा पृथ्वी एउटा उदाहरण हो । यत्रो ठूलो पृथ्वीको एउटा देशको एउटा सहरको एउटा टोलको एउटा घरभित्र बसेको मान्छेले संसारको सबै म हुँ भन्नु पनि हुँदैन । अनि आफैँले पाएको दुःख सबैभन्दा ठूलो हो भन्ने पनि ठान्नुहुँदैन । मान्छे सबैजना आ–आफ्नो संघर्षमा हुन्छन् र सबैलाई आफ्नो संघर्ष सबैभन्दा भयानक लाग्छ । तर, मान्छेको आत्मविश्वास सबैभन्दा महत्वपूर्ण हो । त्यो आत्मविश्वास आफ्ना लागि मात्र होइन, अरूका लागि पनि होस् । आफूले काम गर्दै गर्दा समाजप्रति कति उत्तरदायी छु भनेर सोच्नुपर्छ भन्ने लाग्छ । अहिलेको उपलब्धिले मेरो सोच झन् बलियो बनाइदिएको छ ।

तपाईंको उमेर त धेरै होइन, १८ वर्षको उमेरमा धेरै पाठ, अनुभव र उपलब्धि प्राप्त गर्नुभयो, यसको पृष्ठभूमि कसरी बन्यो ? 

हाम्रो परिवार खेती–किसानीमै आधारित छ । धान, कोदो मकैको खेती गर्ने र त्यसैका आधारमा जीवन चलाउने परिवार हो । सामान्य परिवार नै भए पनि म घरको कान्छी छोरी भएकीले मलाई अभाव भन्ने महसुस कहिल्यै भएन । म राम्रो पढ्ने विद्यार्थी थिएँ । यस्तो अवस्थामा सबैले राम्रो पढी भनेर प्रशंसा गर्दै गए, त्यसलाई मैले नियन्त्रण गर्न सकिनँ । कतिपय विषयलाई इगोको रूपमा लिएँ, कतिपय विषयमा उत्ताउली पनि भएँ ।

म आफैँले आफैँलाई भन्दा म बिग्रेकी थिएँ । अझ, एसएलसी दिएपछि पारिवारिक हिसाबमा दूरी निर्माण भयो । खासमा कलेज पढ्नका लागि म बेनी आएपछि मेरो जीवन कुबाटोमै लागेको थियो । भिडमा रमाउँदारमाउँदै एक्लिएको पत्तै पाइनँ । त्यो समयमा राम्रो सोच्दासोच्दै पनि, अरूका लागि राम्रो गर्दागर्दै पनि म दलदलमा फसेँ छु । म त सडककै जीवन बिताउने भइसकेकी रहेछु । मेरा कमी–कमजोरी नभएको भए त प्रश्नै हुने थिएन । तर, मेरो आत्माले भन्थ्यो– मैले अरूको कुभलो के गरेकी छु र ? आफ्नो जीवनलाई मात्र त दुःख दिएकी हुँ ।

तर, त्यसले आमा, बुबा र परिवारलाई कति दुःखी बनाएको छ, समाजलाई कति हानि गरेको छ भन्ने सोच्न सकिनँ । त्यो वेलामा समाजले कस्तो व्यवहार गर्छ ? त्यो महत्वपूर्ण हुने रहेछ । घृणा गर्दा घृणा मनमा पलाउने रहेछ, त्यसले झन् गलत बाटोमा लग्ने रहेछ । मैले आमा, बुबा र आफन्तलाई धेरै दुःख दिएँ । समाजलाई पनि दुःख दिएँ । तर, त्यस्तो वेला पनि आमाबुबाले माया मार्नुभएन । मैले यति सताउँदा पनि बाबुआमाले साथ दिन सक्छन्, म फर्केर आउने प्रेरणा यही हो । मान्छेले मान्छेलाई प्रेम र विश्वास गर्छ भने त्योभन्दा ठूलो शक्ति र प्रभाव केही हुँदैन, म एक उदाहरण हुँ ।

सडकमा पुगे पनि तपाईं छिट्टै उठ्नुभयो र आज दुनियाँका लागि प्रेरणाको स्रोत बन्नुभयो, उतारचढाव यति छिटो–छिटो कसरी विकास भयो ? 

खासमा सडकमै पुगेपछि मैले आफ्नो जिन्दगीसँग संघर्ष गरिरहेकी थिएँ । फर्कन पटकपटक कोसिस गरेकी थिएँ । तर, फेरि जिन्दगी सकियो, बाँचेर पनि कुनै सार छैन भन्ने टुंगोमा पनि पुगेँ । डोरी लिएर धेरैपटक आत्महत्याको कोसिस पनि गरेकी थिएँ । तर, आफैँले रोजेर स्विकार्ने मृत्यु त हार हो, जित्नु नै जीवन हो भन्ने भावना पनि मनमा आइरहन्थ्यो । मैले जिन्दगीलाई जिन्दगीको अर्थमा बाँच्न जानिनँ, जिन्दगीलाई जिन्दगीको तरिकाले जिउन जानिनँ, तर के भयो ? कोसिस गरिहेरुँ न, आफूलाई नै मौका दिऊँ भन्ने ठहर पनि भयो ।

त्यसका लागि परिवारबाट पाइने अलिकति माया र विश्वासको ठूलो अर्थ रहेछ । परिवारको साथ पाएपछि जिन्दगीलाई नयाँ तरिकाबाट जिउने कोसिस गर्छु भनेर अठोट लिएँ । म आफू त बाँच्छु, तर बाँच्ने आफ्ना लागि मात्र हो र ? यो प्रश्न पनि थियो । आफ्ना लागि त सबैजना बाँचिरहेका हुन्छन् । सानै उमेरमा पनि म आफ्ना लागि पर्याप्त बाँचेँ । अब समाजका लागि बाँच्छु भन्ने भावनाले अघि बढेकी छु, सबैको साथ र हौसला पाएकी छु । यो नै मेरो जीवनको सबैभन्दा ठूलो आधार हो ।

सामाजिक काम त गर्ने हो, तर बेवारिसे शव जलाउने, यो काममा त धेरैले ध्यानै दिएका थिएनन्, तपाईं कसरी जोडिनुभयो ? 

जिउँदो मान्छेको सेवा गर्ने धेरै हुनुहुन्छ । र, समाजसेवी पनि धेरै हुनुहुन्छ । तर, यत्तिका जिउँदा मान्छे भएको सहरको कुनै कुनामा वर्षौँदेखि कुहिएर बसेका शव छन् । यो सुन्दा र सोच्दा पनि अनौठो होइन र ? त्यसैले हामीले तिनको व्यवस्थापन गर्नुपर्छ । यसमा संस्था पनि छ हाम्रो एक्सन फर सोसियल चेन्ज र बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र । यसरी यो कर्मलाई हामीले व्यवस्थित रूपमा गरिरहेका छौँ । अर्को कुरा, मैले सडकमै पनि धेरै समय बिताएँ । तर, जब मैले जिन्दगीलाई नयाँ तरिकाबाट बाँच्छु भन्ने अठोट गरेँ । म पनि विदेश जान्छु भनेर तयारी गरेकी थिएँ । सलिना दिदी पनि त्यही तयारीमा हुनुहुँदोरहेछ । अनि मेरो ‘एप्लिकेसन रिजेक्टेड’ भयो । तर, सलिना दिदीको ‘एसेप्ट’ भयो । अनि आफ्नो बुबा विनयजंग बस्नेतलाई चिनाइदिनुभयो । सलिना दिदी अहिले अस्ट्रेलियामा हुनुहुन्छ । मैले विनयजंग बुबालाई कर्मबुबा मानेकी छु । उहाँकै प्रेरणा र सहयोगले म यो नयाँ बाटोमा लागेकी हुँ । उहाँकै बाटोमा लागेर मैले पनि बेवारिसे लास जलाउने, दागबत्ती दिने गर्न थालेँ ।

तपाईंले गर्नुभएको सामाजिक काम अतुलनीय छ, तर अध्ययनलाई पनि निरन्तरता दिनुपर्छ भन्ने सोच्नुभएको छ? 

बीचमा ग्याप त भयो, तर धेरैले भनिरहनुभएको छ पढ्नुपर्छ भनेर । अब कामसँगै पढाइलाई निरन्तरता दिनुपर्छ भन्ने लागेको छ । घरको आर्थिक अवस्था ठीकै मात्र छ । तर, विभिन्न प्रतिकूलताबीच पनि पढाइलाई अघि बढाउँछु । जतिले हौसला दिनुभएको छ र विश्वास गर्नुभएको छ, त्यसलाई गुम्न दिनेछैन ।

घाटसँगको यो सम्बन्धले तपाईंलाई कस्तो महसुस हुन्छ ? 

घाटसँगको सम्बन्ध हिजोको मेरो समयले जोडेको हो । हिजो मैले बेवारिसेसँग धेरै समय बिताएकी छु । कति समय उनीहरूसँगै भोकभोकै रात कटाएकी छु । अब यसो सम्झना हुन्छ, म पनि हिजो त्यो बाटोलाई नछोडेको भए या त्यो संगतमै रमाएको भए के थाहा, म पनि बेवोरिसे लासकै रूपमा घाटमा पुग्न के अनौठो थियो र ? बाटो बिराएका कारण होस् वा अन्य विपत्तिले एक्लिएकाहरूको पनि अन्त्येष्टिको अधिकार त छ नि ! त्यसैले मलाई यो कर्ममा धेरै आस्था पनि छ । मान्छेलाई मान्छेको अधिकार दिन हामी किन चुक्ने भन्ने लाग्छ । त्यही अनुभूतिले दागबत्ती दिने र घाटसँगको सम्बन्ध स्थापित भएको हो । त्यसैले यो कर्म गर्न पाएकोमा आफैँलाई एकदमै भाग्यमानी महसुस हुन्छ । तर, म यति भाग्यमानी छु कि हरेक समय बेवारिसे शवलाई दागबत्ती दिन पाइरहेकी छु ।

बेवारिसे शव जलाउने कामले यति ठूलो सामाजिक प्रभाव पार्छजस्तो लागेको थियो कि थिएन ? 

भविष्यमा पनि राम्रो नाम होला भनेर यो काममा पाइला राखेको होइन । मैले त हिजो आफैँले भोगेको, महसुस गरेको जीवनलाई अब रचनात्मक बनाउनुपर्छ भनेर लागेकी हुँ । आफूले जे गर्दा खुसी हुने हो, त्यही नै गर्ने हो । लोभ र लालचले काम गर्ने होइन । जिन्दगीसँग हारेका मान्छेलाई हौसला दिने कुरा कति ठूलो रहेछ भन्ने ज्ञान यो सम्मानले दिएको छ । तपाईंले गर्नुभएको काम असाधारण हो, तर यसका लागि सबैले स्वाबासी दिन्छन् भन्ने पनि होइन । अप्ठ्यारो प्रतिक्रियालाई कसरी सामना गर्दै आउनुभएको छ ? 

कसैेकसैले होच्याउँछन् नि । धेरैले निरुत्साहित गर्न पनि खोजे । तर, उनीहरूलाई म धन्यवाद दिन चाहन्छु । किनभने मान्छेको स्वभाव फरक हुन्छ भन्ने सिक्न पनि पाएँ नि मैले । हिजो सडकमा बस्दा पनि मलाई नराम्रो भन्ने, आज सडकमा भएका मान्छेलाई उसको अन्तिम अधिकार दिने काम गर्दा पनि हेय भावनाले हेर्ने । त्यसैले भिडले के भन्छ भन्ने विषयमा धेरै सोच्नुहुन्न भन्ने लाग्छ मलाई । अर्को विषय, कतिपय मान्छेले पत्याउँदैनन् पनि । हिजो नराम्रो प्रतिक्रिया दिनेले अहिले भने बल दिन्छन् । कतिपय त म्यासेज गरेर भन्नुहुन्छ, ‘मैले आत्महत्या गर्न डोरी लिएर बसेको थिएँ, तपाईंको भिडियो हेरेसँगै मैले आफूलाई परिवर्तन गरेँ ।’ त्यसले चाहिँ अत्यधिक सन्तोष दिन्छ । हिजो तेरो जिन्दगी सकियो भन्ने मान्छेहरू पनि थिए । तर, ती सबै कुरालाई चिरेर अगाडि बढिसकेकी छु । अब कसैले रोक्न सक्दैन । Source: नयाँ पत्रिकार दैनिक