कहालीलाग्दो अक्करे भिरमा सडक विस्तारसँगै म्याग्दीको रघुगंगा गाँउपालिकाको केन्द्र मौवाफाँट दुर्गम बस्ती कुईनमंगलेसम्मको सडक विस्तारको अभियानले तिब्रता पाएको छ ।

जिल्लामै डरलाग्दो अक्करे भिर मानिने दग्नामको अजिंगर भिरमा मजदुरले झुन्डिएर, स्काभेटर र विष्फोटक पदार्थको प्रयोग गरी ट्याक खोलेसँगै गाउँपालिकाको केन्द्रसँग तीनवटा वडालाई जोड्ने गरी सडक विस्तारमा सहज भएको गाँउपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

चिमखोला र कुइनेमंगमा निर्माणाधिन जलबिद्युत आयोजना र प्रदेश सरकारसँगको साझेदारीमा कडा चट्टानी पहाडलाई थिचोल्दै सडक विस्तार गरिएको छ ।

अजिंगर भिरमा सडक खन्न यो वर्ष गाँउपालिकाले एक करोड पचास लाख र गण्डकी प्रदेश सरकारले पचास लाख बिनियोजन गरेको छ । जलबिद्युत आयोजनाहरुसँग ट्याक निर्माणका लागि सरकारको बराबर लगानी गर्ने सम्झौता भएपछि सहज भएको गाउँपालिकाले जनाएको छ ।

मौवाफाँट–दग्नाम–दर्मीजा हुदै चिमखोला जोड्ने सडक रघुगंगा गाउपालिकाको गौरवको आयोजना हो । मौवाफाट देखि दग्नाम हुदै अजिंगर भिर ५ किलोमिटर र चिमखोला देखि दर्मीजासम्म करिब ४ किलोमिटर सडकको ट्याक खुलिसकेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

गाउँपालिका, प्रदेश सरकार र जलबिद्युत आयोजनाले फरक फरक ठाउँमा काम गर्ने योजना रहेको छ । दर्मीजा र दग्नाम दुबै तर्फबाट पाँच वटा डोजरका साथै मजदुर परिचालन गरिएको छ । जलविद्युत आयोजनाहरुको सहयोगमा नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोगले सडक विस्तारमा सहज भएको छ । अजिंगर भिर उक्त क्षेत्रमा सबैभन्दा जोखिम मानिन्छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकार र संघीय सरकारले पनि दग्नाम–दर्मीजा–चिमखोला सडक आयोजनालाई सडक बिनियोजन गरेका थिए । सडक विस्तारमा आवश्यक पर्ने विष्फोटक पर्दाथको सहज ब्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

सडक सञ्जाल जोडिएसँगै दुर्गम कुईनेमंगलेमा उत्पादित कृषिजन्य बस्तु, जडिबुटीको निर्यातका साथै धार्मिक तथा पर्यटकीयस्थल रिखार, धौलागिरी हिमाल आसपासका क्षेत्रमा समेत आवतजावतमा सहज हुने छ । उक्त सडक गाउँपालिकाको गौरवको योजना भित्र पर्छ ।

सडक सञ्जाल विस्तारको खवरले स्थानीय समेत उत्साहित छन् । सदरमुकाम बेनीसम्म आउन पैदल र सवारीसाधनको प्रयोग गरी १ दिनको यात्रा गर्ने स्थानीयले यात्रा छोटिने भएपछि उत्साहित छन् ।

यसअगाडी स्थानीयले भगवती, बेग– चिमखोला हुदै घ्यासीखर्क जोड्ने ५६ किलोमटिर दुरिका सडक घुमाउरो र बर्खाको समयमा समेत आवतजावतमा निकै सास्ती र लामो दुरीको भएकाले नयाँ सडक छोटो र सहज हुने छ । अक्करे भिरका मुटु नै लुगलुग कमाउने साँघुरा गोरेटोमा नै पाइला नाप्दै हिड्ने स्थानीयलाई सडक विस्तार भएपछि ठूलै राहत मिलेको छ।

 

Leave a Reply