बुटवलका मन्दिर, प्रहरी चौकीको प्रतिक्षालय, ट्राफिक चोक, चौराह । कुनै बेला यतै भेटिन्थिन् उनी । १५ वर्षकै उमेरमा जीवनका तीता भोगाइले उनलाई सडकमा पुर्‍यायो । आकाशलाई छानो जमिनलाई ओछ्यान बनाएर बुटवलका गल्ली र चोकहरुमा उनले तीन महिना बिताइन् । सानो उमेरमै सडकको जिन्दगी भोगेकी उनी हुन् सपना रोका मगर ।

दिनभर टोलाइरहन्थिन् सपना । चिच्याएर रुन खोज्थिन् तर आवाज भित्रै हराउँथ्यो । के भइरहेको छ, सोच्न सक्ने अवस्था थिएन । भोकै रात काट्थिन् । शरीरमा पाइन्ट, टिसर्ट अनि ज्याकेट । लगलग काम्दै जाडोको त्यो समय एकै ठाउँमा नबोली बस्थिन् । ओठबाट हाँसो खोसिएको थियो । बोली बन्द भएको थियो । कसैले बोलाउँदा पनि झसंग हुन्थिन् । कतै परबाट बोलाएझैं कानमा अरुको बोली ठोकिन्थ्यो । निन्द्रा हराएको थियो । दया गरेर कसैले दिएको खानाले पेट भर्थिन् ।

त्यो पनि नपाउँदा ६/७ दिनसम्म भोकै बस्थिन् । भोकले रन्थनिँदा मनमनै कसैले एक छाक दिए हुन्थ्यो भन्ने प्रार्थना गर्थिन् । पानी पिएरै भोक मेट्न खोज्थिन् । अनि सानो डायरीमा कलमले कोरिबस्थिन् । दिनभर सडकमै बिताए पनि रातमा प्रहरी चौकीको प्रतिक्षालय पुग्थिन् उनी । कारण, कसैले गलत नजरले हेरे प्रहरीलाई गुहार्न सकिन्छ भन्ने विश्वास थियो उनलाई ।

‘सडकमा जीवन बिताउने छोरी मान्छेलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । चौकी बाहिर रात कटाए, केही भयो भने प्रहरी चौकीमा प्रहरीहरु त हुनुहुन्छ भन्ने हुन्थ्यो,’ सडकको जीवन सम्झँदै सपना सुनाउँछिन्,’ढोकामा उभिने एकजना प्रहरी दाइले सँधै मलाई हेरिरहनुहुन्थ्यो । साँझ पर्नेबित्तिकै आइपुग्छ, कसको छोरी होला, कहाँबाट आइन् होला भन्ने सोच्दो हो ।’त्योबेला उनको शरीरको तौल घटेर ३२ किलो भयो ।

एकदिन सपनालाई सहनै नसक्ने भोक लाग्यो । बिस्कुट के खान लागेकी थिइन् उनको ध्यान छेउमै रोइरहेको अनाथ बच्चातिर गयो । आफूले खाँदै गरेको बिस्कुट त्यो बालकलाई दिइन् । त्यतिखेर झल्याँस्स म्याग्दीमा रहेका आमाबुबाको झल्को आयो । ‘धेरै याद आयो उहाँहरुको । कान्छी छोरी मलाई घरमा सबैले धेरै माया गर्नुहुन्थ्यो । खाना नखाँदा जबरजस्ती खुवाउनु भएको दिनको याद आयो,’ सपनाले सुनाइन् ।

त्यसपछि सपनाले सडक छोड्ने निर्णय लिइन् । सोचिन्, ‘म यस्तो मान्छे त होइन, के बिग्रेको छ गल्ती सबैले गर्छन् । मैले मेरो गल्ती सुधार्नुपर्छ ।’ त्यसपछि उनले आत्मविश्वास बढाएर सडकको जिन्दगी त्यागिन् । विद्यालय पढ्दै गर्दा सपनाको हातमा मोबाइल पर्‍यो । कक्षा ९ मा फेसबुक खोलिन् । नयाँ साथीहरु भेटिन् । नराम्रो साथी संगतमा रमाउन थालिन् । २०७३ मा श्री महेन्द्र रत्न उच्च माध्यमिकबाट एसएलसी दिएर कलेज पढ्न बेनी आइन् । भर्चुअल संसारमै रमाउन थालिन् उनी ।

फेसबुकबाटै भेटेको एक व्यक्तिसँग बिहेको सम्बन्ध गाँसियो । तर, त्यो सम्बन्धलाई बिहे मान्दिनन् उनी । ‘बिहेकै रुपमा त्यसलाई लिँदिनँ । कसैको जिन्दगी सपार्न कसैको जिन्दगी प्रयोग गरिएको थियो । म प्रयोग भएँ त्यो ठाउँमा,’उनले सुनाइन्,’घर परिवार कसैले सुधार्न नसकेको व्यक्तिलाई बिहे गरिदियो भने सुध्रिन्छ भन्ने उसको परिवारलाई लाग्थ्यो । त्यो परिबन्धमा सम्बन्ध जोडियो ।’ कान्तिपुर दैनिकबाट साभार