म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित विद्यालयहरु भोली आइतबारदेखि नियमित रुपमा खुल्ने भएका छन् । बिहिबार नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय वैठकले आइतबारदेखि नियमित रुपमा विद्यालय खोल्ने निर्णय गरेको हो ।

सर्वपक्षीय वैठकको निर्णय अनुसार कोरोना भाइरसको संक्रमणको जोखिम तथा लकडाउनका कारण बन्द भएका विद्यालयमा आवश्यक जनस्वास्थ्यको मापदण्ड प्रयोग गर्ने गरी विद्यालय समेत जुटेका छन् । नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डहरुको पूर्ण रुपमा पालना गरी विद्यालय सुचारु गर्ने निर्णय भएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

विद्यालय सञ्चालन गर्न व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरुले अनिवार्य रुपमा माक्स लगाउने, भौतिक दुरीलाई कायम गर्ने, साबुन पानी र स्यानीटाइजरको व्यवस्था गर्ने समेत निर्देशन दिइएको छ ।

लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाको शिक्षामा असर पुगेकोले विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुले बेनी नगरपालिकामा विद्यालय खोल्ने अनुमति दिन प्रस्ताव पेश गरेका थिए । सोहीअनुसार बेनी नगरपालिकाले पनि विद्यालय सञ्चालनमा सम्बन्धित विद्यालयहरु तथा अभिभावक जिम्मेवार हुने गरी आइतबारदेखि विद्यालय खुल्ने नगरपालिकाले जनाएको छ ।

यसैगरी विद्यालय सञ्चालनको क्रममा कोरोना भाइरससम्बन्धी लक्षणहरु मिल्दाजुल्दा देखिएका विद्यार्थीहरुको स्वास्थ्य अवस्था चेकचाँज गराउने, स्वास्थ्य कार्यालय र नगरपालिकालाई जानकारी गराउने, विद्यार्थीहरुमा फैलनबाट रोक्न स्वास्थ्यका मापदण्डहरु पालना गराउन शिक्षक र अभिभावक सचेत रहेर पाठनपाठन नियमित गराउने निर्णय समेत भएको छ ।

बेनी नगरपालिकाभित्र ५६ वटा सामुदायिक विद्यालय, १२ वटा संस्थागत, एकएक वटा अनौपचारिक, धार्मिक र म्याग्दी बहुमुखी क्याम्पस गरी कुल ७१ वटा शैक्षिक संस्थाहरु सञ्चालनमा रहेका छन् ।

Leave a Reply