बेनी नगरपालिका-१ रत्नेचौरमा सडक कालोपत्रे सुरु भएको छ । रत्नेचौरलाई जिरो पोइन्ट मानेर रत्नेचौर–अर्जम हुदै ज्यामरुककोट–भकिम्ली जोड्ने सडकमा शनिबारदेखि कालोपत्रे सुरू भएको हो । बेनी नगरपालिकाको तीन वडाका बासिन्दाले प्रयोग गर्ने सडकमा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा सडक डिभिजन कार्यालय बागलुङले सडक विस्तार तथा कालोपत्रे कार्यलाई तिब्रता दिएको वडा अध्यक्ष टेकबहादुर रावलले बताए ।

‘तीन वडाका जनतालाई राहत मिल्नेछ,‘कालोपत्रेको कार्यले आगामी बर्षपनि निरन्तरता पाउँछ’ अध्यक्ष रावलले भने । बेनपा १, २ र ३ नम्बर वडाका जनतालाई सहज आवतजावत हुने गरी कालोपत्रे र ढलानका लागि सर्वसिद्धि कन्स्ट्रक्सन प्रालिले १ करोड ७३ लाख मा ठेक्का लिएको अध्यक्ष रावलले बताए ।

उनका अनुसार पहिलोचरणमा उपल्लाचौरको राम्चेको घुम्तीसम्म १ हजार ३ सय मिटर सडक ८.२० मिटर फराकिलो हुने गरी कालोपत्र गरिने छ भने दोस्रो प्याकेजमा उपल्लाचौरदेखि अर्जम हुँदै भकुन्डे खण्डमा सडक विस्तार, पर्खाल र नाली बनाउन १ करोड ६९ लाखमा अर्को ठेक्का लगाएर काम भइरहेको छ । कालोपत्रेसँगै नाली निर्माणको काम भइरहेको छ ।

उक्त सडक रत्नेचौरबाट भकिम्ली जोड्ने १८ किलोमिटर दूरीको भएकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार बहुवर्षे आयोजना अन्तरगत बजेट विनियोजन भई काम भइरहेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । सडक कालोपत्रेसँगै बेनपा १ को अर्जम, बेनपा २ का विभिन्न बस्तीका जनतालाई छिमेकी जिल्ला बागलुङ तथा सदरमुकाम बेनी आवतजावतमा समेत सहज हुनेछ ।

पछिल्लो समय रत्नेचौरमा विकासले तिब्रता पाएको छ । सडक सञ्जालसँगै लामो झोलुङे पुल, खानेपानी, खेलकुद मैदानको काम धमाधम भइरहेको छ । म्याग्दीको सदरमुकाम बेनी आसपासका क्षेत्रमा करिब ९ किलोमिटर सडकमा कालोपत्रे गरिएकोमा करिब ३ किलोमिटर कालोपत्रे उप्लिएको छ ।

Leave a Reply