सदरमुकाम कुश्मामा आधुनिक बसपार्क निर्माणसहित सिटी हल निर्माणका लागि प्रक्रिया शुरु भएको छ । सङ्घीय सरकारको शहरी विकास मन्त्रालयले कुश्मामा बसपार्कसहित सिटी हल निर्माणका लागि बजेट विनियोजन गरेपछि निर्माणका लागि आवश्यक प्रक्रिया थालिएको हो । नगरपालिकाले सो कार्यका लागि डिपिआर तयार पारिसकेको छ ।

तत्कालका लागि प्रारम्भिक काम गर्न मन्त्रालयले रु एक करोड बजेट पठाइसकेको कुश्मा नगरपालिकाले जनाएको छ । डिपिआर निर्माणपछि बहुवर्षे ठेक्काको प्रक्रिया शुरु हुने नगरपालिकाले जनाएको छ । अहिले रु एक करोड रकमबाट जग्गा सम्माउने, पर्खाल निर्माण गर्ने, प्रारम्भिक चरणमा आवश्यक पर्ने निर्माण सामग्री खरिद गर्नेलगायतका काम हुने नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

सरकारले बजेट पुस्तिकामा कुश्मामा बसपार्क निर्माण गरिने उल्लेख गरेको छ । कुश्मा नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा बसपार्कसहित सिटी हल निर्माणलाई प्राथमिकतामा राखेको छ । कुश्मा बजार विस्तार हुँदै गइरहेको, भित्री बाहिरी चक्रपथ निर्माण भइरहेको, पर्यटकीयस्थल थपिँदै गएकाले कुश्मा आधुनिक शहरको रुपमा विकास हुन थालेको जोशीले बताउनुभयो ।

शहरी विकास कार्यालय बागलुङलाई कुश्मा नगरपालिकाले प्रारम्भिक चरणमा गर्नुपर्ने कामको सूची तयार पारेर दिने तयारी गरेको छ । बसपार्क तीन तल्लाको निर्माण हुने गरी डिपिआर तयार भएको छ । भूइँतलामा ठूला बस, पहिलो तलामा सभाहल, दोस्रो तलामा साना सवारी पार्किङ गरिने र तेस्रो तलामा १५० जनाभन्दा बढी मानिस अट्ने हल निर्माण गरिने भएको छ । सबै काम सम्पन्न गर्न करिब एक रु अर्ब बजेट लाग्ने गरी डिपिआर तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले जानकारी दिनुभयो ।

Leave a Reply