“भोलि वृद्धभत्ता बुझ्न सबै मिलनचोक जाओ है । कसैले बुझेनौँ, सुनेनौँ भन्न पाउनेछैन, भोलि र पर्सिभित्रमा वृद्धभत्ता बुझ्न मिलनचोक बैंकमा जाओ हो ।” धाइरिङको डाँडाबाट गाउँतिर फर्केर यो सूचना प्रवाह गर्दैथिए ४३ वर्षका गोरे ‘दमाई’ । पर्वतको जलजला गाउँपालिका ७ का उनी यसैगरी कर्नाल बजाएर गाउँलेको ध्यानाकर्षण गर्छन् अनि स्थानीय सरकारको सूचना भन्छन् ।

सामाजिक सञ्जालमा अहिले उनले सूचना प्रवाह गर्दै गरेको भिडियो चर्चामा छ ।दमाईको पछिल्लो चारपुस्ताले यो काम गरिरहेको छ । वि.सं. १९९४ देखि उनको जिजुहजुरबुबा पुस्ताले घोक हाल्ने (कटुवाल) काम गर्दै आइरहेका छन् । पुस्तान्तरण हुँदै गर्दा उनले २५ वर्षदेखि यो काम गर्दै आएका छन्, जतिबेला उनी १८ वर्षका मात्र थिए।

त्यतिबेलाको समाजमा मानापाथी चल्थ्यो, अन्न लिने गर्दथे, बालीघरे प्रथा थियो । तत्कालीन गा.वि.स.ले केही रकम भत्ताबापत दिन्थ्यो ।अहिले भने मानापाथीको चलन छैन । बरु त्यहाँको स्थानीय सरकारले नै करार सम्झौता गरेर निश्चित रकम दिँदै आएको छ । स्थानीय सरकारले नै सूचना प्रवाह गर्न भनेर उनलाई अह्राउँछन्, सोही सूचना उनले गाउँलेलाई दिन्छन् ।

गत चैतमा कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी सुरु भयो । त्यतिबेला भाइरसको प्रकृति, रोग, बच्ने उपायबारे सरकारसँग पनि यथेष्ट जानकारी थिएन । मात्र सचेत रहन आग्रह गरिएको थियो, मास्क, सेनिटाइजरको प्रयोग गर्न तीनै तहका सरकारले सूचना निकाले ।

सरकारको सूचना जनतासँग पुर्याउने जिम्मा दमाइकै थियो । त्योबेलामा पनि उनले उसैगरी कर्नाल फुकेर घोक हाले, कोरोनाबाट बच्न, स्वास्थ्य सामाग्री प्रयोग गर्न, सरसफाई गर्नुपर्ने सूचना प्रवाह गरे । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, बिनाकाम एक–अर्काको घरमा नजान र भिडभाड हुने ठाउँमा नजान आग्रह गरे ।

यसपटक सामाजिक सुरक्षा भत्ता लिने सम्बन्धि सूचना थियो ।सोही सूचना उनले दिए । गाउँलेलाई वृद्धभत्ता लिन जाने सूचना दिएपनि उनले भने उमेर नपुगेका कारण वृद्धभत्ता पाउँदैनन् । उनको परिवारबाट एकजनाले मात्र वृद्धभत्ता पाउँछन् । छोराले घोक हालेपछि उनको आमाले थाहा पाउँछिन,– वृद्धभत्ता पाउने समय ।

“हाम्रो घरमा ७३ वर्षको आमा हुनुहुन्छ, उहाँले मात्रै हो वृद्धभत्ता पाउने, मैले गाउँलेलाई सूचना दिएँ, आमाले पनि थाहा पाउनुभयो,” उनले भने ।

मासिक ३ हजार रुपैयाँ पाउनेगरि उनीसहित जलजला गाउँपालिकाका ९ वडाका ११ जनाले यो काम गर्दै आइरहेका छन् ।

उनको जिम्मामा वडा नं. ७ पर्दछ । उक्त वडाको झन्डै १५ जति ठाउँबाट उनले गाउँलेलाई सूचना प्रवाह गर्दछन् । साविकको जलजला गाउँ विकास समितिको ६ वटा वडामा उनले यसैगरि सूचना दिँदै आएका छन् ।

“बास्कोटका ४ ठाउँ, धाइरिङको १० ठाउँबाट मैले घोक हाल्ने गरेको छु, तल्लो भेगमा अर्को दाइ हुनुहुन्छ,” उनले भने ।

पछिल्लो दशकयता गाउँगाउँमा हराउँदै गइरहेको कटुवाल प्रथा जलजलाका सबै तहमा भने अहिले पनि कायमै छ । सूचना प्रविधीको विकाससँगै हराएको यो प्रथालाई गाउँपालिकाले भने नीति तथा कार्यक्रम र बजेटमा नै समावेश गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले नीति तथा कार्यक्रम र बजेट अनुसार नै ११ जनालाई करारमा नियुक्त गरिएको जानकारी दिए ।

“भूगोल ठूलो भएका कारण ९ वटा वडामा ११ जना कटुवाल राखिएको छ । हामीले बजेटमा नै राखेका छौँ । एक महिनाको दसैंभत्ता पनि दिने गरेका छौँ,” उनले भने ।

यो कार्यक्रम गतवर्ष पनि गाउँपालिकाले राखेको थियो । यसवर्ष चारलाख ६८ हजार रुपैयाँ बजेट यो कार्यक्रमलाई विनियोजन भएको छ । Source: baahrakhari.com