दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएका बेनी नगरपालिका–३,भकिम्ली हल्लेगौंडाका एक यूवालाई डेढ लाखभन्दा बढी सहयोग गरिएको छ ।

विगत ६ बर्षदेखि मृगौलामा समस्या देखिएपछि पोखराको मनिपाल अस्पतालमा उपचारर्थ ३८ बर्षिय मुक्ति रोकालाई प्रत्यारोपण लगायत नियमित औषधी सेवनका लागि स्थानीय न्यू सेभेन स्टार यूवा क्लवको पहलमा १ लाख ५६ हजार १ सय ६० रुपैयाँ संकलन गरी पीडितको परिवालाई हस्तान्तरण गरिएको छ ।

पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएका रोकाको उपचारका साथै कोठा भाडा सहित उपचारमा समस्या भएपछि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको क्लवका अध्यक्ष दिपक थापाले बताए ।

आर्थिक सहयोग अभियानमा सचिव याम घर्तीमगर, कोषाध्यक्ष कृष्ण छन्त्याल, पूर्व अध्यक्ष भानुभक्त थापा, सदस्य धिरेन थापा, पुरन छन्त्याल लगायतको सक्रियता रहेको स्थानीय यूवा सन्दिप निउरेले बताए । सहयोगले उपचारमा केही राहत मिल्ने पीडितको परिवारको भनाई छ ।

विपन्न परिवारका रोका सामान्य कृषिपेशाबाट परिवारको गुजरा चलाउने गरेका थिए । प्रत्यारोपण सहित नियमित उपचारका लागी आर्थिक आवश्यकता परेको बारेमा यसअगाडी बेनीअनलाइनले समाचार प्रकाशित गरिसकेको छ । मृगौला प्रत्यारोपण तथा डायलासिस लगायतमा करिब १५ लाख आवश्यक रहेको छ ।

Leave a Reply