बेनी नगरपालिका क्षेत्रमा सञ्चालित विद्यालयहरु ९ महिनापछि आइतबारदेखि नियमित रुपमा खुलेका छन् । कोरोना भाइरसको संक्रमणको जोखिम तथा लकडाउनका कारण बन्द भएका विद्यालयमा आवश्यक जनस्वास्थ्यको मापदण्ड प्रयोग गर्ने गरी विद्यालय सञ्चालन गरिएको हो । विद्यालयले भौतिक दुरी कायम गरी पठनपाठन सुरु गरेको बेनी सामुदायिक माविका प्रधानाध्यापक दिपक श्रेष्ठले बताए। ‘नियमित पठनपाठन सुरु भएको छ,‘अभिभावकलाई समेत प्रतिबद्धतापत्र पठाएका छौ’ श्रेष्ठले भने । अभिभावकले विद्यालयले बनाएको सहमतिपत्र अनुसार जनस्वास्थ्यको मापदण्डलाई कार्यान्वयन गर्ने, मास्क, सेनिटाइजर, फेस सिल्डको अनिवार्य प्रयोगमा समेत जोड दिएको विद्यालयले जनाएको छ । नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डहरुको पूर्ण रुपमा पालना गरिएकाले विद्यार्थीलाई जोरबिजोर नम्बरमा हप्तामा ३ दिन विद्यालय आउने गरी ब्यवस्थापन गरिएको छ ।

लामो समयसम्म घरमै बसेर अनलाइन, विभिन्न माध्यमबाट पठनपाठनमा सहभागी भएका विद्यार्थीहरू ९ महिनापछि विद्यालयमा पुग्दा निकै उत्साहित भएका थिए। ‘९ महिनापछि साथीसँग भेट्ने अवसर मिल्यो,‘अब नियमित कक्षामा पढ्न पाइन्छ’ बेनी सामुदायिकमा कक्षा ६ मा अध्ययनरत अनुस्का भट्टचनले भनिन् ।

विद्यालय खुलेको पहिलो दिन कक्षा ब्यवस्थापन र कक्षा सञ्चालन र नियमित प्रयोग गर्नुपर्ने सुरक्षाका साम्रागीका बारेमा विद्यार्थीलाई जानकारी गराइएको छ । लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाको शिक्षामा असर पुगेकाले नियमित कक्षा सञ्चालनले विद्यार्थी उत्साहित भएपनि अतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि धेरै पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । यता म्याग्दी जिल्लामा संक्रिय कोरोना संक्रमतिको संख्या न्यून रहेकाले सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । ‘स्थानीय तहले जनस्वास्थ्यको मापदण्ड पुरा गरेर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ,‘हामीले आवश्यकता परेमा अनुगमन गछौं’ प्रजिअ अधिकारीले भने । विद्यालय सञ्चालनको क्रममा कोरोना भाइरससम्बन्धी लक्षणहरु मिल्दाजुल्दा देखिएका विद्यार्थीहरुको स्वास्थ्य अवस्था चेकचाँज गराउने, स्वास्थ्य कार्यालय र नगरपालिकालाई जानकारी गराउने, विद्यार्थीहरुमा फैलनबाट रोक्न स्वास्थ्यका मापदण्डहरु पालना गराउन शिक्षक र अभिभावक सचेत बनाउने कार्यहरुलाई निरन्तरता दिनुपर्ने बताए ।

बेनी नगरपालिकाभित्र ५६ वटा सामुदायिक विद्यालय, १२ वटा संस्थागत, एकएक वटा अनौपचारिक, धार्मिक र म्याग्दी बहुमुखी क्याम्पस गरी कुल ७१ वटा शैक्षिक संस्थाहरु सञ्चालनमा रहेका छन् । म्याग्दीमा रहेका ६ स्थानीय तहमध्ये बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, मालिका गाउँपालिकाले पठनपाठन सुरु गरेका छन् ।

Leave a Reply