कलिलै उमेरमा घरबाट हराएका ओमबहादुर फगामीले धेरै बर्ष भेडीगोठमा विताए। घरबाट एक्कासी सम्पर्कविहिन भएर मुस्ताङका विभिन्न लेकमा गोठालो भएर हुर्किए। पेटमात्रै पाल्ने गरी करिब पाँच दशकसम्म मुस्ताङ र उत्तरी म्याग्दीका विभिन्न चरनक्षेत्रमा विताएका फगामीले जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट पहिलोपटक नागरिकता पाए।
मंसिरको कठ्यांग्रिदो जाडोमा खाली खुट्टा, हापपाइन्ट लगाएका एक सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा देखिए । म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगखोलाका ७५ बर्षिय फगामीलाई लिएर उनका भाई फ बहादुर फगामी प्रशासनमा पुग्दा प्रजिअ उमाकान्त अधिकारीले चासो ब्यक्त गरे ।
अन्य सेवाग्राहीसँगै बसेका फगामीलाई प्रजिअले आफ्नै कार्यकक्षमा बोलाए । धुलाम्मे अवस्थामा प्रजिअको कार्यकक्षमा प्रवेश गरेका फगामीले आफ्नो गोठालो दैनिकीका बारेमा प्रजिअलाई सुनाए । १५ वर्षको उमेरमा जंगल, भेडीगोठ र मानवबस्तीभन्दा धेरै टाढा पुगेर हुर्किएका ओमबहादुरले नौलो परिवेशमा घुलमिल हुने प्रयास गरेका थिए।
नागरिकताको प्रतिक्षामा बसेका ओमबहादुरले आफ्नो गोठालो दैनिकीका बारेमा खुलेर सुनाउँदै थिए । भाइ फबहादुरले आवश्यक कागजपत्र जुटाएर बुझाएसँगै ओमबहादुरले नागरिकता पाए । ‘बल्ल मैले आफ्नो नाम पाए,‘सबैले गोठालो भन्थे, घरमा राखेको नामको परिचय पाए’ ओमबहादुरले भने ।
मुस्ताङबाट आएर उत्तरी म्याग्दीको नारच्याङ र पाउद्धारको बिचमा रहेको एउटा जिर्ण घरमा भेटिएका ओमबहादुरलाई लिएर नागरिकता बनाउँदा एउटा भाईको जिम्मेबारी पुरा भएको फबहादुरले बताए । ‘जंगलमा भेट्दा राउटे जस्तै थिए,‘मलाई देखेर निकै खुसी भए’ फबहादुरले भने । उनले घरबाट हराएर एकपटक भेटिएपनि पुनः हराएपछि खोजीकार्यमै धेरै बर्ष वितेको बताए ।
प्रजिअ अधिकारीले ओमबहादुरलाई नागरिकता हस्तान्तरण गर्दा दुवैजनाको अनुहारमा खुसी छल्किएको थियो । विसं २००७ असार २० मा जन्मिएका दाइलाई नागरिकता दिलाएसँगै अब वृद्घभत्ताले औषधिउपचार र सामान्य खाना खर्चका लागि सजिलो हुने फबहादुरको भनाई छ।
हिडेर भेडीगोठमा पुगेका ओमबहादुरले पहिलोपटक सवारीसाधनमा चढेर बेनी आएको बताए । ‘अब मिठो खाने, राम्रो लुगा लगाउने दिन आयो,‘अहिले त तन्नेरी भएजस्तो लागेको छ’ ओमबहादुरले भने ।
पहिलोपटक भेट्दा राउटे दाई भन्दै भाईले जिस्काएको उनले बताए । ‘५० बर्ष कामगर्दा पनि एक रुपैयाँ पाइन,‘अब घरमै बस्छु’ उनले भने । ओमबहादुरको गोठालो अनुभव सुनेर बसेका प्रजिअ अधिकारीले जीवनको उत्तरार्धमा पुगेको अवस्थामा नागरिकता हस्तान्तरण गर्दा निकै खुसी लागेको बताए ।
‘बृद्धबृद्धालाई आफ्नै कार्यकक्षमा राखेर नागरिकता दिन्छु,‘लाइनमा बसेको देखेपछि चासो लागेर कार्यकक्षमा बोलाएको थिए’ प्रजिअ अधिकारीले भने । उनले सेवाग्राहीलाई सहज सेवा प्रवाह पहिलो प्राथमिकता भएको बताए । उनले प्रशासनमा आउने अपाङ्ग, जेष्ठ नागरिकलाई आफ्नो कार्यकक्षमा पठाएर भएपनि सहजै सेवा दिन कर्मचारीलाई निर्देशन दिएको बताए ।
कोरोना भाइरसका कारण पालिकास्तरमा पुगेर आयोजना गर्ने घुम्ती सेवाहरु सञ्चालनमा समस्या भएको बताउँखदै गाउँघरमा ओमबहादुर जस्ता धेरै भएकाले प्रक्रिया पुरा गरेमा घरदैलोमै पुगेर नागरिकता दिने बताए । कार्यालयमा प्रवेश गरेका सेवाग्राहीलाई लामो समयसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास प्रशासनबाटै सुरु भएको छ ।









