कलिलै उमेरमा घरबाट हराएका ओमबहादुर फगामीले धेरै बर्ष भेडीगोठमा विताए। घरबाट एक्कासी सम्पर्कविहिन भएर मुस्ताङका विभिन्न लेकमा गोठालो भएर हुर्किए। पेटमात्रै पाल्ने गरी करिब पाँच दशकसम्म मुस्ताङ र उत्तरी म्याग्दीका विभिन्न चरनक्षेत्रमा विताएका फगामीले जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट पहिलोपटक नागरिकता पाए।

मंसिरको कठ्यांग्रिदो जाडोमा खाली खुट्टा, हापपाइन्ट लगाएका एक सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा देखिए । म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगखोलाका ७५ बर्षिय फगामीलाई लिएर उनका भाई फ बहादुर फगामी प्रशासनमा पुग्दा प्रजिअ उमाकान्त अधिकारीले चासो ब्यक्त गरे । अन्य सेवाग्राहीसँगै बसेका फगामीलाई प्रजिअले आफ्नै कार्यकक्षमा बोलाए । धुलाम्मे अवस्थामा प्रजिअको कार्यकक्षमा प्रवेश गरेका फगामीले आफ्नो गोठालो दैनिकीका बारेमा प्रजिअलाई सुनाए । १५ वर्षको उमेरमा जंगल, भेडीगोठ र मानवबस्तीभन्दा धेरै टाढा पुगेर हुर्किएका ओमबहादुरले नौलो परिवेशमा घुलमिल हुने प्रयास गरेका थिए।

नागरिकताको प्रतिक्षामा बसेका ओमबहादुरले आफ्नो गोठालो दैनिकीका बारेमा खुलेर सुनाउँदै थिए । भाइ फबहादुरले आवश्यक कागजपत्र जुटाएर बुझाएसँगै ओमबहादुरले नागरिकता पाए । ‘बल्ल मैले आफ्नो नाम पाए,‘सबैले गोठालो भन्थे, घरमा राखेको नामको परिचय पाए’ ओमबहादुरले भने ।मुस्ताङबाट आएर उत्तरी म्याग्दीको नारच्याङ र पाउद्धारको बिचमा रहेको एउटा जिर्ण घरमा भेटिएका ओमबहादुरलाई लिएर नागरिकता बनाउँदा एउटा भाईको जिम्मेबारी पुरा भएको फबहादुरले बताए । ‘जंगलमा भेट्दा राउटे जस्तै थिए,‘मलाई देखेर निकै खुसी भए’ फबहादुरले भने । उनले घरबाट हराएर एकपटक भेटिएपनि पुनः हराएपछि खोजीकार्यमै धेरै बर्ष वितेको बताए ।

प्रजिअ अधिकारीले ओमबहादुरलाई नागरिकता हस्तान्तरण गर्दा दुवैजनाको अनुहारमा खुसी छल्किएको थियो । विसं २००७ असार २० मा जन्मिएका दाइलाई नागरिकता दिलाएसँगै अब वृद्घभत्ताले औषधिउपचार र सामान्य खाना खर्चका लागि सजिलो हुने फबहादुरको भनाई छ। हिडेर भेडीगोठमा पुगेका ओमबहादुरले पहिलोपटक सवारीसाधनमा चढेर बेनी आएको बताए । ‘अब मिठो खाने, राम्रो लुगा लगाउने दिन आयो,‘अहिले त तन्नेरी भएजस्तो लागेको छ’ ओमबहादुरले भने ।

पहिलोपटक भेट्दा राउटे दाई भन्दै भाईले जिस्काएको उनले बताए । ‘५० बर्ष कामगर्दा पनि एक रुपैयाँ पाइन,‘अब घरमै बस्छु’ उनले भने । ओमबहादुरको गोठालो अनुभव सुनेर बसेका प्रजिअ अधिकारीले जीवनको उत्तरार्धमा पुगेको अवस्थामा नागरिकता हस्तान्तरण गर्दा निकै खुसी लागेको बताए ।‘बृद्धबृद्धालाई आफ्नै कार्यकक्षमा राखेर नागरिकता दिन्छु,‘लाइनमा बसेको देखेपछि चासो लागेर कार्यकक्षमा बोलाएको थिए’ प्रजिअ अधिकारीले भने । उनले सेवाग्राहीलाई सहज सेवा प्रवाह पहिलो प्राथमिकता भएको बताए । उनले प्रशासनमा आउने अपाङ्ग, जेष्ठ नागरिकलाई आफ्नो कार्यकक्षमा पठाएर भएपनि सहजै सेवा दिन कर्मचारीलाई निर्देशन दिएको बताए ।

कोरोना भाइरसका कारण पालिकास्तरमा पुगेर आयोजना गर्ने घुम्ती सेवाहरु सञ्चालनमा समस्या भएको बताउँखदै गाउँघरमा ओमबहादुर जस्ता धेरै भएकाले प्रक्रिया पुरा गरेमा घरदैलोमै पुगेर नागरिकता दिने बताए । कार्यालयमा प्रवेश गरेका सेवाग्राहीलाई लामो समयसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास प्रशासनबाटै सुरु भएको छ ।

Leave a Reply