म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा बन्ने ५ शैयाको अस्पताल तत्काल शिलन्यास नहुने भएको छ । ताकम स्वास्थ्य चौकी स्तरउन्नतिको लागि स्वास्थ मन्त्रालय बाट स्वीकृत बजेटबाट बन्न लागेको भवनको वडा सदस्य देब बहादुर थापा, जग्गादाता रेशम थापा र धर्मपत्नी श्रीमती ज्ञानमती थापाले गरेको शिलन्यासलाई गाउँपालिकाले आधिकारिक मान्यता नदिएको विज्ञप्तीमार्फत जनाएको छ ।

गाउँपालिका अध्यक्ष थमसरा पुनमगरद्धारा जारी विज्ञप्तीमा अस्पताल बन्ने स्थानका बारेमा वडाभित्रै आन्दोलन भइरहेको अवस्थामा शिलन्यास गरेको समाचार सार्वजनिक भएपछि उक्त कार्यलाई अस्वीकार गरिएको बताउँदै छलफल, सहकार्यबाटै भवनको शिलन्यास गर्ने बताइएको छ ।

मंगलबार अस्पतालको भवन बनाउन माग गदैं आन्दोलित धारापानीबासीसँग भएको छलफलमा गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष रेशम छन्त्याल, वडा नं १ गूर्जाका अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता झकप्रसाद छन्त्याल, वडा नं ६ का अध्यक्ष राजाराम सुबेदी, आमन्त्रीत सदस्य देउप्रसाद छन्त्यालको संयुक्त छलफल गरेका छन् ।

आन्दोलित धारापानीबासीसँगको छलफलमा ताकम स्वास्थ्य चौकी स्तरोउन्नतीको नाममा बजेट आएको र धारापानीबासीसँग सहमति नहुदाँसम्म अस्पतालको शिलन्यास सहितका अन्य कार्यक्रमहरु स्थगित गर्ने सहमति भएको स्थानीय यूवा सरोज थापाले जानकारी दिए ।

उनका अनुसार उक्त सहमतिसँगै सडक अवरुद्ध तथा आन्दोलनका कार्यहरु समेत स्थगित गरिएको छ ।गाउँपालिकाको केन्द्र तोक्ने समयमा गाउँसभाबाटै धारापानीमा अस्पताल बनाउने लिखित निर्णय भएको थियो । सहमति विपरित कार्य गरिएको भन्दै स्थानीयबासीले सडक अवरुद्ध सहितका आन्दोलनका कार्यहरु गरेका थिए ।

गाउँपालिका अध्यक्ष पुनले जनतालाई सहज हुने गरी अस्पताल बनाउने प्रतिबद्धता समेत जनाएको आन्दोलन पक्षको भनाई छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नेपाल सरकारले स्थानीय तहमा सुविधासम्पन्न अस्पताल बनाउने गरी बजेट विनियोजन गरिएको थियो ।

संघीय सरकारको बजेट र डिजाइनमा स्थानीय सरकारलाई उपलब्ध गराइने ७ करोड ११ लाख ९८ हजार बजेटका हाल ७० लाख निकासा भइसकेको छ । पाँच सैयाको एकजना मेडिकल अफिसर सहित १२ स्वास्थ्यकर्मीको दरबन्दी रहेको छ भने अस्पतालमा आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा विस्तार गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply