म्याग्दीको मालिका गाउँपाकिला-१ निस्कोट जुवाङका चित्रबहादुर पुनले आफ्नो दुवै मृगौलामा समस्या देखिएको जानकारी श्रीमतिलाई गराएर दुई महिनापछि वैदेशिक रोजगारीबाट फर्किदा श्रीमतिले दुई छोराछोरीलाई छोडेर अन्यत्रै गइसकेकी थिइन्। दुईबर्ष साउदी र दुईबर्ष कतारमा कमाएको पैसा सबै श्रीमतिकै नाममा पठाउने गर्थे। अहिले उनीसँग न पैसा छ न त श्रीमति नै।

सानो झुप्रोमा ८० बर्ष नाघेका आँखा नदेख्ने बृद्ध बुबा, ३ बर्षको छोरा र ८ बर्षको छोरीलाई बिचल्लीमा पारेर गतबर्षको असोज महिनामा परपुरुषसँग घरबारै छाडेर अन्यत्र गएकी श्रीमतिलाई करिब ६ महिना खोज्दा पनि चित्रबहादुरले फेला पार्न सकेनन् । वैदेशिक रोजगारबाट फर्किदा श्रीमतिलाई पठाएको करिब २० लाख नगदको हिसावकिताव समेत उनले पाएनन्। बरु, विदेश जाँदाको ऋणको भारी अझै बोक्दैछन् ।

मृगौला रोगी श्रीमानलाई आफ्नै मृगौला दिनुपर्ने भन्दै एक्कासी घरबाट सम्पर्कविहिन भएको चित्रबहादुरको गुनासो छ ।‘रोग नहुदाँसम्म हाम्रो सम्बन्ध राम्रो थियो,‘मैले पैसा पठाउँदा उनी खुुसी हुन्थिन्,‘मृगौलामा समस्या देखिएको जानकारी गराउँदावित्तिकै केहीदिनमै सम्पर्कविहिन भईन्’ चित्रबहादुरले भने ।

घरपरिवारका लागि सुन्दर सपना देखेर विदेश गएको अवस्थामा रोगसँगै फर्किएको चित्रबहादुरले कमाएको पैसा समेत हिनामिना हुदाँ डाइलाइसिस गर्ने खर्चको अभावमा सहयोगको याचना गर्नुपर्ने अवस्थामा पुगेको बताए । ‘मेरो दुखमा साथ दिनुपर्ने अवस्थामा श्रीमतिले नै छोडेर गईन्,‘दुई छोराछोरीसहितको परिवारको पालनपोषणका लागि पनि बाँच्ने रहर छ’ चित्रबहादुरले भक्कानिदै भने ।

स्वदेश तथा विदेशमा रहेका निस्कोटबासीको सहयोगमा पोखरामा डायलासिस गराइरहेका चित्रबहादुरले मृगौला प्रत्यारोपणपछि दैनिक मजदुरीमा फर्किएर छोराछोरीका लागि खर्च जुटाउने सपना देखेको बताए । ‘मैले अब छोराछोरीको लागि बाँच्नुपर्ने छ,‘छोराछोरीले रुदैं फोन गछ्र्रन्,‘उनीहरुको आँखामा आँसु देख्न सक्दिन’ चित्रबहादुरले भने।

फिस्टुलाद्धारा गरिने डायलाइसिसमृगौला प्रत्यारोपण नगरेसम्म हप्ताको दुईपटक गर्दा झण्डै औषधी सहित यातायात खर्चमा १० हजार खर्च हुने उनले बताए । मृगौला प्रत्यारोपणपछि जीवनभर औषधी खानुपर्छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारर्थ उनको डायलाइसिस र प्रत्यारोपणका लागि करिब २० लाख लाग्ने अनुमान गरिएको छ । हालसम्म उनको करिब ३ लाख खर्च भइसकेको छ ।

Leave a Reply