संस्कृत व्याकरणका दोस्रो पाणिनि म्याग्दीका गोविन्दप्रसाद शर्माको भारतमा देहावशान

0

भारत सरकारद्धारा संस्कृत व्याकरणका “अपर–पाणिनि” उपाधिले विभूषित स्वामि गोविन्दाचार्य (गोविन्दप्रसाद शर्मा)को निधनले संस्कृत वाङ्मयको नेपाली र भारतीय विद्धत समाज स्तब्ध बनेको छ ।

नेपालमा जन्मेर सानैदेखि भारतमा अध्ययन र अध्यापन गर्दै संस्कृत वाङ्मयको श्रीवृद्धि र विस्तारका लागि जीवन समर्पित गर्नुभएका शर्मा भारत सरकारद्धारा संस्कृत व्याकरणका दोस्रो पाणिनीका साथै दर्जनौ सम्मानद्धारा सम्मानित हुनुभएको थियो ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा पिता भीमप्रसाद शर्मा र माता भूदेवी शर्माको कोखवाट सन् १९६३ मार्च १५ मा जन्मीएका शर्मा शिक्षा, सेवा र साधनाका धरोधर र संस्कृत व्याकरणका दोस्रो पाणिनीको रूपमा भारतको राजधानी नयाँ दिल्लीमा प्रसिद्ध बन्नुभएको थियो ।

सम्पूर्णनन्द संस्कृत विश्वविद्यालयवाट संस्कृत व्याकरण,वेदान्त र ज्योतिषमा एमए (आचार्य) गर्नुभएका शर्माले भारतको अयोध्यामा अवस्थित श्री निवास वोधायन रामानुज संस्कृत महाविद्यालयमा व्याकरण विभागाध्यक्ष पदवाट राजिनामा दिई संस्कृत भाषाको सम्वृद्धिका लागि भारतको राजधानी नयाँदिल्लीको इब्राहिमपुरमा श्री निवास सेवार्थ न्यास सञ्चालन गरी हजारौं नेपाली लगायत भारतीयलाई संस्कृतका प्रकाण्ड विद्धान बनाइसक्नुभएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

पाणिनीय व्याकरणस्यैतिहासिकं परिशीलनम्, नित्यानुसन्धान,क्रृजुसिद्धान्त कौमुदी,सारसिद्धान्त कौमुदी,लघुसिद्धान्त कौमुदी, लगायतका दुई दर्जन कृतिका श्रष्टा शर्मा वंशी र संस्कृत सम्बादजस्ता भारतका प्रशिद्ध पत्रिकाहरुका सम्पादक समेत हुनुहन्थ्यो ।

भारत सरकारवाट प्रदान गरिने जनसेवक सम्मान, संस्कृत सेवा सम्मान, आचार्य शंकर पुरस्कार, इन्डिया इन्टरनेशनल मल्टिवर्सिटी, लगायत एक दर्जन सम्मानबाट सम्मानित शर्माले सञ्चालन गरेको संस्कृत महाविद्यालय भारतकै प्रतिष्ठित विद्यालय मानिने भारतको नयाँदिल्लीबाट श्रीनिवास संस्कृत विद्यापीठका प्राचार्य जीवन शर्माले जानकारी दिनुभयो ।

शर्माले भारतको दिल्ली, चण्डीगढ, पंचकुला, पनवेल, मैसूर जयपुर, नान्देड लगायतका स्थानमा संस्कृत विद्यालयहरु संचालन गरी विद्यार्थीलाई निःशुल्क भोजन, आवास, औषधी उपचार लगायतका सेवाहरु प्रदान गरिरहनुभएको थियो ।
बाल्यकालदेखि नै अत्यन्त तीक्ष्ण वुद्धिका शर्माको बाल्यकाल ६ वटा विषयमा आचार्य गरेका उहाँकै मामा त्रिदण्डी स्वामी श्रीधराचार्य (बागलुङ कुंडुले) को सान्निध्यमा बितेको थियो ।

आठ वर्षको उमेरमा अध्ययनका लागि भारतको अयोध्या जानुभएका शर्मा त्यहाँस्थित श्रीनिवास बोधायन रामानुज संस्कृत महाविद्यालयवाट आचार्य गरी सोही महाविद्यालयमा अध्यापन गरी व्याकरण विभागका अध्यक्षसमेत बन्नुभएको थियो ।

एउटा विद्यालयको सीमित क्षेत्रमा मात्र केन्द्रित रहँदा संस्कृतका एक हजार प्रकाण्ड विद्धान उत्पादन गर्ने र संस्कृत साहित्यलाई विश्वमा प्रचार गर्ने आफ्नो उद्धेश्य पुरा नहुने देखि शर्माले स्वच्छिक अवकाश लिई नयाँ दिल्ली गएको खबर भारतवाट प्रकासित हुने समाचारपत्रले प्रकाशित गरेका थिए ।

शर्मा ज्योतिष, आर्युर्वेद र संस्कृत साहित्यका प्रकाण्ड विद्धान हुनुका साथै एक कर्मयोगि सन्त पनि भएको भारतीय संचारमाध्यमले वताउँदै आएका छन् । भारतवाट प्रकाशित हुने बंशी नामक पत्रिकाका अनुसार शर्माले वृद्ध सेवाश्रम, आर्युर्वेदिक डिस्पेन्शरी संचालन गर्नुका साथै निकट भविष्यमा नै कन्या गुरुकुलसमेत संचालन गर्ने योजनामा हुनुहुन्थ्यो ।

म्याग्दीको एउटा विकट गाउँमा जन्मीएका शर्मा विश्वकै पुरानो भाषा संस्कृत व्याकरणका रचयीता पाणिनीको समकोटीमा राख्दै भारत सरकारले दोस्रो पाणिनीको सम्मान दिनुले नेपालको प्रतिष्ठा वढ्नुका साथै भारतमा रहेका नेपालीहरुले गौरवको अनुभूति गरेको भारतवाट प्रकाशित हुने संस्कृत सम्वाद समाचार पत्रका कार्यकारी सम्पादक जीवन शर्माले जानकारी दिनुभयो ।

लामो समयदेखि मुटु र सुगर रोगको उपचार गराइरहनु भएका शर्मालाई एक साता अघि कोरोना पोजेटिभ देखिएको त्यहाँबाट विष्णु शर्माले जानकारी दिनुभयो । शर्माले दिएको जानकारी अनुसार मंसिर १५ गते साँझ उँहाको निधन भएको चिकित्सकले पुष्टि गरेका थिए । स्व. शर्माको मंगलवार बैदिक विधानअनुसार अन्तेष्टि संस्कार गरिएको छ ।

Leave a Reply