आदरणीय गुरुवर्ग
नमस्कार !
कोरोना भाईरस (कोभिड–१९) का कारण लामो समय बन्द रहेको विद्यालय शर्त सहित शुरु भएकोछ । विद्यार्थी वर्गमा पढ्न पाइने, साथीभाइ भेट्न पाईने साथै गुरुवर्गसंग ज्ञान हासिल गर्न पाईने आशाका साथ खुशी छाउनु र विद्यालय जान उत्साहित हुनु स्वभाविकै हो भने अर्काे तर्फ अभिभावक वर्ग भने  कुनै कुनामा शंका उब्जेर दोमन हुन पुगेकाछन् र अझै ढुक्कका साथ आफ्ना सन्ततिलाई विद्यालय पठाउन सकिरहेकाछैनन् ।
त्यसैले यस्तो विषम परिस्थितिमा तमाम् गुरुवर्गमा थप चुनौती थपिएकोछ । समयले कोल्टे फेरेकोछ । हिजो फलामे ढोकाको उपमा पाएको एसईई परिक्षामा सामेलनै नभईकन विद्यार्थीले  ग्रेडसिट हात पारे । कक्षा ११ र १२ को उस्तै उस्तै हालत छ । भौतिक उपस्थितिमा लौरोले तर्साउँदै घोकन्ते बिद्यामा तल्लिन शिक्षण सिकाई क्रियाकलाप ‘जुम’ प्रविधिमा परिणत भएकोछ ।
हिजो मोवाईल छुदाँ गाली खाने सन्तानलाई मोवाईल र ल्यापटप किनिदिनु परेकोछ । शिक्षा भन्दा स्वास्थ्य ठुलो भन्ने ठुलो पाठ सिकाएकोछ । स्वास्थ्य रहेमा ढिलै भए पनि शिक्षा ग्रहण गरिएला भन्ने मान्यता स्थापित गरिदिएकोछ । त्यसैले गुरुवर्ग पनि समय सापेक्ष परिवर्तन हुन जरूरी छ ।
हिजो विद्यालय पोशाक नलगाउँदा सजायको भागिदार हुने विद्यार्थीलाई बरू बारै पिच्छे फरक–फरक पोशाक लगाउने प्रेरित गर्ने कि ? विगतमा साढे नौमा आउँदा गेटबाट फर्काईएका विद्यार्थीलाई बरू पाँचदश मिनेट ढिला भएपनि दस बजे उपस्थित गराउने कि ? किनकि, याद गरौं टाईसुटमा ठाटिएको खराब मानिस भन्दा धोति लगाएर रित्तो पाउ हिड्ने महात्मा गान्धी महान हुन ।
दाह्रिजुँगा केश लामो भएपनि बैज्ञानिकलाई खराव भनेको कहिकतै सुनिदैन । रौं लामो भएपनि राजेश हमाल बौद्दिक व्यक्तित्व हुन भने ठुटे जाँगे लगाएर चप्पल पड्काए पनि महावीर पुन आविक्ष्कार केन्द्र जस्तो उत्कृष्ट काममा लागि परेकाछन् । राम्रो काम गरेमा “बेवारिसे लाशलाई दागबत्ती दिएर“ भएपनि सपना पुनमगरले विश्वको शक्तिशाली सय महिला–२०२० मा बनेर चकित पारेकाछन् ।
पाईलट कलम भिरेर खराव शब्द लेख्नु भन्दा बाँसको कप्टेराले साहित्य सिर्जना गर्ने कालिदास महान हुन । केश छोटो भएका पेले हुन वा केश पालेका म्याराडोना, दायाँ खुट्टाले प्रहार गर्ने रोनाल्डो हुन वा बायाँ खुट्टाले प्रहार गर्ने मेसी, गोल गर्ने उद्देश्यले मैैदान छिरेर उद्देश्य पूरा गरेकाले सफल भएका हुन ।
जमैकैन टोनी–आन सिंहलाई विश्व शुन्दरी हुन कालो छालाले छेकेन् । भैंसी गोठालाका छोरा रामवरण यादव गणतन्त्र नेपालीको पहिलो राष्ट्रपति बन्न पुगे भने चिया बेच्नका छोरा नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बने । न त करिष्मा मानन्धरलाई उच्च शिक्षा ग्रहण गर्न उनको उच्च उमेरले छेक्यो न त रमेश प्रसाईंलाई जनताको आँखा खोल्न आफ्नो आँखाले छेक्यो ।
झमक घिमिरेलाई मदन पुरस्कार जित्न शारीरिक असक्तताले छेकेन । त्यसैले शारीरिक बनावट र लवाइखुवाइ भन्दा लक्ष्य प्राप्ति पहिलो प्राथमिकता हो कि ? त्यसैले परिस्थिति बदलिएको छ । विद्यालयमा गुरुवर्गको विश्वासमा परेर आएका विद्यार्थीहरूलाई शिक्षा दिनु, अनुशासित बनाउनु, समय परिपालक र आज्ञापालक बनाउनु त एकातिर छदैछ अर्कोतर्फ त्यो भन्दा ठुलो कोरोनाको महामारीबाट जोगाएर भविष्यका कर्णधार निर्माण गर्नुछ ताकि भोलिका पिढीले कोरोना जस्ता महामारीको औषधी प्रयोग गर्न वर्षाै–वर्ष कुर्न नपरोस् ।
अकालमा ज्यान गुमाउन नपरोस् ।तपाई हाम्रो सानो प्रयास कोरोना नियन्त्रणमा सारथि बनोस् । कोरोनासँग डराएर होईन डटेर सामना गरौं । सुरक्षाका मापदण्ड अपनाऔं–कोरोनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं ।
धन्यबाद !
२०७७ मंसिर १५ गते सोमबार ।
उहीँ तपाईंको
विनय श्रेष्ठ
बेनी नगरपालिका – ७, म्याग्दी ।

Leave a Reply