म्याग्दीमा यस वर्ष धान उत्पादन दुई प्रतिशतले बढेको छ । पर्याप्त वर्षा पर्नु, समयमै रोपाइँ हुनु, सिँचाइ सुविधा पुग्नु, जमिनको क्षेत्रफल विस्तार हुनु जस्ता कारणले प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष कुल खेतीयोग्य जमिनको तीन हजार नौ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १३ हजार ६ सय २६ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गएको वर्ष तीन हजार नौ सय एक हेक्टरमा धान खेती गरिएकोमा १३ हजार तीन सय ६० दशमलव ८ मेट्रिक टन उत्पादन भएको थियो ।

गएको वर्ष प्रति हेक्टर ३ दशमलव ४ मेट्रिक टन उत्पादकत्व रहेकोमा यस वर्ष प्रति हेक्टर ३ दशमलव ५ मेट्रिक टन उत्पादकत्व भएको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो ।

उहाँले म्याग्दीको विभिन्न ठाउँमा गएको बाढी, पहिरो तथा भू–क्षयका कारणले गर्दा अपेक्षा गरेअनुसार धान उत्पादन नभए पनि गएको वर्षको तुलनामा भने दुई प्रतिशतले धानको उत्पादन बढेको बताउनुभयो ।
यसपालि गएको वैशाख–जेठ महिनामै धान रोपाइँका लागि पर्याप्त वर्षा भएकाले किसानले समयमै रोपाइँ गर्न पाएका थिए ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण लकडाउनले फुर्सदिला भएका किसानहरूले बाँझो जमिनमा पनि रोपाइँ गरेको हुँदा धान उत्पादनको क्षेत्रफल विस्तार भएको छ । लकडाउनले गर्दा सहर–बजार तथा विदेशबाट युवा गाउँ फर्किएकाले खेतीबाली लगाउने क्रममा पनि आवश्यक जनशक्ति उपलब्ध हुँदा सहज भएको किसानहरुको भनाइ छ ।

यस वर्ष वर्षाको समयमा अत्यधिक पानी परेका कारण बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरि गाउँपालिकाको विभिन्न ठाउँमा आएको बाढीपहिरो, भू–क्षय र कटानले खेतीयोग्य जमिन नष्ट गर्नुका साथै धान खेतीमा क्षति पुर्‍याएको थियो । कुल दुई हजार दुई सय ९७ वर्ग किलोमिटर क्षेत्रफल रहेको म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये अहिले १९ हजार चार सय ९८ हेक्टरको जमिनमा मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ भने बाँकी ११ हजार तीन सय ९८ हेक्टर जमिन बाँझो रहनुका साथै प्लटिङ गरिएको छ ।

म्याग्दीमा गौरिया, जेठोबुडो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २, गुडुरा, दर्माली, आङा (कालो धान), झिनुवा जस्ता स्थानीय (लोकल) जातका धानहरु रोप्ने गरिएको छ । पछिल्लो समय म्याग्दीको सीमित ठाउँमा किसानहरूले सुख्खा धान १, २, ३ नामक जातसमेत रोप्न थालेका छन् ।

एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको म्याग्दीको सबै ठाउँमा धानखेती हुँदै आएको छ । म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायतका क्षेत्रमा धानखेती हुने गरेको छ । यी क्षेत्रहरु धान खेतीका लागि पकेट क्षेत्रका रूपमा चिनिएका छन् । यसैगरी धौलागिरि गाउँपालिकाअन्तर्गत पर्ने हिमाली तथा विकट क्षेत्र गूर्जा र लुलाङमा भने अत्यधिक चिसोका कारण धान खेती हुँदैन ।

Leave a Reply