म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरस्थित पुरुण्डीकी २४ वर्षीया सिर्जना परियार सम्पर्कविहिन भएपछि खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । पुरुण्डीबाट भीरमुनीमा विवाह गरेकी उनी गत आइतबार (यही मंसिर १४ गते) बिहान ८ बजे घरबाट बेनीबजार जान्छु भन्दै झरेपछि हालसम्म पनि घर नफर्किएको हुँदा उनको खोजीकार्य सुरु गरिएको हो ।

बेनीबजार झरेपछि विद्युत कार्यालयमा पुगेर बिजुली बत्तीको बिल तिरेकी सिर्जना ५ दिनसम्म पनि परिवारको सम्पर्कमा आएकी छैनन् । बजार झरेकी सिर्जना घर, माइती र आफन्तकोमा पनि नपुगेपछि खोजीका लागि घर परिवारले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा मङ्गलबार (१६ गते) निवेदन दिइएको उनका दाजु रिजाल परियारले जानकारी दिएका छन् । उनले घर तथा माइती पक्षबाट विभिन्न ठाउँमा खोजीकार्य गरिएको भए पनि अहिलेसम्म सिर्जना सम्पर्कमा नआएको बताए ।

बजार झरेकी सिर्जना एक्कासी सम्पर्कविहिन भएपछि उनका घर तथा माइती दुवै पक्ष चिन्तित बनेका छन् । उनीहरुले खोजीका लागि सबैतिर आग्रह गरिएको बताउँदै कसैले देखेमा वा भेट्टाएको खण्डमा प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन अनुरोध गरेका छन् ।

सिर्जनाका श्रीमान् रोजगारको सिलसिलामा अहिले विदेशमा छन् । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठले सम्पर्कविहिन भएको भन्दै सिर्जनाका आफन्त र घर परिवारले कार्यालयमा निवदेन दिएकाले खोजीकार्य थालिएको जानकारी दिए । उनले परिवारबाट निवेदन आएलगत्तै मातहतका प्रहरी युनिट तथा सम्बन्धित निकायमार्फत खोजतलाज तीव्र पारिएको बताएका छन् ।

Leave a Reply