निर्माणाधिन राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्ड फराकिलो बनाउन र सुधार गर्नका लागि दैनिक साढे तीन घण्टा बन्द हुने भएको छ । धौलागिरीका चार जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने पर्वतखण्डमा अप्ठेरो भिरमा कटान गर्नका लागि मंसिर २१ गते आइतवार देखि दुई हप्ताका लागि सडक बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा संयोजनमा शुक्रवार बसेको सर्वपक्षिय बैठकले लोकमार्गको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका वडा नं. ७ खरेहादेखि वडा नं. ८ को दोबिल्ला बिचको भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बताए ।

‘मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा अहिले धमाधम काम भैरहेको छ,‘बिहान ११ बजे देखि दिउँसो साढे २ बजे सम्म सडक बन्द निणर्य भएको छ’ उनले भने ।

अहिलेसम्म लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको र खरेहा र चुवाको भीर तथा चुवादेखि दोविल्ला बीचको दुरीमारहेको भीरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्दनै गरेर निर्माण कार्य अघि बढाउन लागिएको हो । आयोजनासँंग ३६ महिनामा निर्माण काम सक्ने गरि सम्झौता भएपनि गत भदौमा सम्झौता अवधि सकिएको छ ।

कोभीड–१९ का कारण झण्डै ७ महिनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि शुरु भएको सडक निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले बताए । उनका अनुसार सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको बताए ।

पर्वत खण्डमा सडक स्तरोउन्नतीको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे बिच्छ्याउन पनि शुरु गरिएको छ । स्तरउन्नतीको कामलाई तीब्र बनाउँदै मोदीखेत देखि कालोपत्रे बिच्छ्याउन शुरु गरिएको छ । कम्पनीका प्रतिनिधी राजाराम आचार्यका अनुसार जाडो नबढे सम्म कम्तीमा पनि ५ किलोमिटरमा कालोपत्रे बिच्छ्याउने काम सकिने छ ।

निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको कम्पनीले रु.८३ करोड ९८ लाख रुपैयामा ठेक्का लिएको हो । पर्वत खण्डको २३ किलोमिटर मध्ये स्टक्चरको काम ९८ प्रतिशत सकिएको छ ।

बागलुङ्गको सिमाना मालढुंगा देखि नयाँपुल सम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ । बाढी र पहिरोका कारण त्यो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण फेरी कालोपत्रे गर्नुपर्ने अबस्था छ । मुस्ताङ म्याग्दी, बागलुङ र पर्वत जिल्लाबाट पोखरा हुदै विभिन्न जिल्लामा आवतजावत गर्ने यात्रुलाई बन्द हुने तालिका भन्दा आगाडी नै आवतजावत गर्न समेत अनुरोध गरिएको छ ।

Leave a Reply