म्याग्दीको मालिका गाउँपाकिला-१ निस्कोट जुवाङमा बेसहारा जस्तै बनेका दुई बालबालिकाको शिक्षादीक्षाका लागि अभियान सुरु भएको छ । जन्मदिने आमाले दोस्रो विवाह र बुबा दुबै मृगौलामा खरावी आएपछि बिचल्लीमा परेको समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट आर्थिक सहयोगको प्रतिबद्धता आउन थालेको हो ।

श्रीमान बैदेशिक रोजगारीमा रहेको अवस्थामा श्रीमतिले विवाह गरेर अन्यत्रै गएपछि सहाराविहीन बनेका ३ बर्षिय धिरन, ८ बर्षिया ज्ञानु पुनको उच्च शिक्षासम्मको पढाई लगायतको खर्चका लागी गरिमा बिकास बैंक दरबाङ शाखामा खाता खोलिएको छ ।

निस्कोटका वडा अध्यक्ष टंक पुनमार्फत ज्ञानु पुनको नाममा तत्काल पैसा जम्मा मात्रै गर्न मिल्ने गरी खाता सञ्चालनमा आएपछि सहयोग जम्मा हुन थालेको बैंकका शाखा प्रबन्धक नारायण शर्माले बताए । उनका अनुसार खातामा जम्मा भएको रकम संरक्षकमा रहेका बुबा चित्रबहादुर र वडा अध्यक्षको रोहवरमा निकाल्न मिल्ने गरी सञ्चालन गरिएको छ ।

चरम विपन्नताका कारण सहयोग जुटाएर मृगौलाको डायलासिस गराइरहेका चित्रबहादुरका ८० बर्ष नाघेका बृद्ध लालबहादुरको रेखदेखमा रहेका बालबालिका आफन्त र छिमेकीको सहयोग गर्दा मात्रै पेटभरी खान पाउँछन् । वडा अध्यक्ष पुनले बालबालिकालाई वडाबाट समेत सक्दो सहयोग गर्ने बताए । बालबालिकाको खातामा जम्मा भएको रकमलाई मुद्धतीमा राखेर उच्च शिक्षासम्मको ग्यारेन्टी गरिने छ ।

सहयोग अभियानमा यूरोपमा रहेका पत्रकार दिल निसानी मगरले समेत साथ दिएका छन् । बालबालिकाका बुबा चित्रबहादुर मृगौलाको डायलासिसका लागि पोखरामा छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारर्थ उनको डायलाइसिस र प्रत्यारोपणका लागि करिब २० लाख लाग्ने अनुमान गरिएको छ । हालसम्म उनको करिब ३ लाख खर्च भइसकेको छ ।

Leave a Reply