म्याग्दीमा यसबर्ष करिब ६ सय गरिब तथा विपन्न परिवारका खरले छाएका घरको छानो हटाएर जस्तापाता लगाइने भएको छ । खरले छाएको घरमा बस्ने परिवारलाई सुरक्षित छानोमुनि ल्याउने नेपाल सरकारको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रममार्फत जिर्ण घरलाई समेत सुधार गर सुरक्षित आवास निर्माण गरिने भएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङ मार्फत स्थानीय तहहरुबाट कार्यान्वयन हुने गरी चालु आर्थिक बर्षमा म्याग्दीमा ५ सय ९७ वटा खरले छाएका र जिर्ण अबस्थामा पुगेका विपन्न नागरिकको घरमा जस्तापाताले छाउने प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले बताए । ‘स्थानीय तहमार्फत बजेट कार्यान्वयन हुन्छ,‘विपन्नलाई घर दिने अभियानमा यसबर्ष धेरै संख्या थपिएको छ’ थापाले भने ।

बेनी नगरपालिकामा १०५, रघुगंगा गाउँपालिकामा ८८, धवलागिरि गाउँपालिकामा ९३, अन्नपूर्ण गाउँपालिकामा ९८, मालिका गाउँपालिकामा १०६ र मंगला गाउँपालिकामा ११० वटा खरले छाएका तथा विपन्न, गरिब, एकल महिला र ज्येष्ठ नागरिकहरुको जिर्ण अबस्थामा पुगेको घरहरु मर्मत गरी करकट पाताले छाउनको लागि छनौट भएका छन् । यहाँका अधिकांश गरिब, विपन्न तथा दलित समुदायका घर खरले छाएका छन्।

‘खरको छानो भएका प्रति घरधुरीलाई ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ,‘खरको छानोमुनि बस्न बाध्य परिवारलाई सुरक्षित छानोमा ल्याउँदैछौं’ थापाले भने । गत बर्ष अन्नपूर्ण र रघुगंगामा १÷१ सय घरहरु छनौट भएर खरका घर विस्थापित गरि जस्ता पाताले छाउन अनुदानका लागि छनौट भएका थिए ।

प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य थापा संयोजक तथा जिसस प्रमुख देवेन्द्रबहादुर केसी लगायत स्थानीय तहका प्रमुखहरु सदस्य र सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सदस्य सचिब रहेको आयोजना व्यवस्थापन समन्वय समितिको बैठकले छनौट भएका लाभग्राहीहरुलाई समेटेर आबश्यक कार्यलाई अघि बढाउने निर्णय गरेको छ । लाभग्राहीलाई पहिलो किस्ता स्वरुप ३० हजार रुपैयाँ उपलब्ध गराइने छ ।

यता जस्तापाता मात्रै परिवर्तनले नहुने जिर्ण घरमा थप बजेटको आवश्यकता भएपनि उपलब्ध नहुदाँ विपन्नले ऋण लिएर घर बनाउनुपर्ने बाध्यता भने रहेको छ । जिर्ण घर मर्मतमा झन्डै २ लाखसम्म ऋण खोजेर अनुदानको जस्तापाता प्रयोग गरेको विपन्नको गुनासो छ ।जस्तापाताले घर छाइसकेपछि दोस्रो किस्ता स्वरुप २० हजार थप गरि ५० हजार अनुदानको उपलब्धता गराईने कार्यविधिमा उल्ल्लेख छ ।

गतबर्ष बेनी नगरपालिकाले नीति तथा कार्यक्रममा योजना समावेश गरी करिब एक सय घरमा जस्तापाता लगाएको थियो । नगरपालिकाभित्र खरको छानो विस्थापित गर्ने योजना अनुसार खरको छानो हटाएर जस्तापाताले घर छाउने कार्यलाई निरन्तरता दिइरहेको छ । खरको छानो भएका घरमा आगलागीको जोखिम बढ्ने र बर्सेनि छानकरिो परिवर्तन गर्नुपर्ने समस्या समाधानका लागि जस्तापता लगाउने अभियानले स्थानीय समेत उत्साहित छन् ।

Leave a Reply