बेनी नगरपालिका-५, पुलाचौर नयाँगाउँकी एक महिलालाई विभिन्न चन्दादाताको सहयोगमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । अबिरल बर्षासँगै साउन १२ गते घर पूर्णरुपमा क्षती भएर बिचल्लीमा परेकी ६१ बर्षिया नन्दकली दर्जीलाई अनोद श्रेष्ठको संयोजनमा सम्पन्न भएको बरन्डा सहितको दुई कोठे घर आइतबार स्थानीय समुदायको उपस्थितीमा एक कर्यक्रम गरी हस्तान्तरण गरिएको हो । नेपाली कांग्रेस बेनी नगर सभापति अनोद श्रेष्ठको संयोजनमा करिब साढे ६ लाखको लागतमा निर्मित घरको चाबी समाजसेवी मन्दिरा श्रेष्ठले एकल महिला दर्जीलाई दिदाँ उत्साहित भएकी थिईन् । आर्थिक अवस्था कमजोर भएको कारण बर्षातले भत्किएको घर बनाउन समस्या भएको अवस्थामा अभियानमार्फत चिटिक्कको घर पाएपछि दर्जी निकै खुसी देखिन्थिन् । उमेरले आफै डाँडामाथिको घामजस्तै अवस्थामा पुगेको अवस्थामा चिटिक्को घरसँगै थप सहयोग पाएपछि उत्साहित भएर सबैलाई धन्यवाद दिएको अभियानका संयोजक अनोद श्रेष्ठले बताए । ‘अति विपन्नलाई घर बनाउने अभियान सञ्चालन गर्ने अवसर मिल्यो,‘आगामी दिनमा यस कार्यलाई निरन्तरता दिन्छौ’ उनले भने ।

कार्यक्रममा समाजसेवी मन्दिरा श्रेष्ठले असहाय वृद्धालाई मानवीय हिसाबले निःस्वार्थभावले सहयोग गर्नेलाई धन्यवाद दिदैं म्याग्दीमा थप नयाँ अभियानमा समेत सहयोग गर्ने बताईन् । ‘हाम्रो देशमा अझै मानवता हराएको छैन्,‘सानोसानो सहयोगले पनि धेरै परिवारमा खुसी मिल्छ’ उनले भनिन् । उनले एकछिन आमाको खुशीको मुहार हेर्ने अवसर मिलेको बताईन् । यसअगाडी म्याग्दीका बाढीपहिरो पीडितलाई समेत श्रेष्ठमार्फत सहयोग गरिएको थियो । सोही अवसरमा एकल महिला दर्जीलाई जिवनयापनको लागि १५ वटा कुखुरा र एउटा बाख्रा समेत प्रदान गरिएको थियो।

त्यस्तै ४३ बृद्धबृद्धालाई न्यानो कपडा सुईटर र ज्याकेट वितरण गरिएको थियो भने चिप्लेटी आमा समुहको भवनलाई श्रेष्ठले १० हजार नगद सहयोग, यूवा क्लवलाई भलिबल प्रदान गरेको यूवा विक्रम बोगटीले जानकारी दिए ।

कार्यक्रमको सभापति कांग्रेस वडा सभापति तेजप्रकाश बानियाँ, सञ्चालन गणेशबहादुर कार्कीले गरेको कार्यक्रममा नेपाली कांग्रेस बेनी नगर उपसभापति यामबहादुर बानियाँले मन्तब्य राखेका थिए । जस्तापाताको छाना हालेर चिटिक्क पारिएको सार्कीको घर आसपासमा थुप्रिएको फोहरसमेत सरसफाइ गरिएको थियो।

Leave a Reply