म्याग्दीको मंगला गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन हुने स्वीकृत योजनाहरु समयमै सम्पन्न गर्नका लागि उपभोक्ता समितिहरुलाई अभिमुखिकरण तालिम सञ्चालन गरेको छ। आ.व. २०७७÷०७८ मा छनौट भएका योजनालाई दिगो र प्रभावकारी बनाउन वडामा पुगेर उपभोक्ता समितिका पदाधिकारलाई समितिको काम, कर्तव्य र अधिकारका साथै विभिन्न विषयमा जानकारी गराइएको हो ।

वडा नं ५ अर्मनबाट सुरू भएको अभिमुखिकरण तालिमको उद्घाटन गदै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले असारे विकास अन्त्यका लागि उपभोक्ता समितिले सम्झौता अनुसार गुणस्तरीय काम गर्नुपर्ने बताए । ‘हरेक योजनालाई लक्ष्य अनुसार सम्पन्न गर्न सकेमा गाउँमा विकास देखिन्छ,‘गाउँको विकासका लागि जनप्रतिनिधिभन्दा धेरै जिम्मेबारी उपभोक्ता समितिमा छ’ अध्यक्ष रोकाले भने ।

अध्यक्ष रोकाले उपभोक्ता समितिको काममा समुदाय सन्तुष्ट भएमात्रै विकासका सहकार्य र एकताको वातावरण बन्ने बताए । कानुनी व्यवस्थाको बारेमा जानकारी नहुँदा उपभोक्ताले अनावश्यक दुःख पाउने भएकोले तालिम सञ्चालन गरिएको अध्यक्ष रोकाको भनाई थियो ।

सोही अवसरमा वडा अध्यक्ष भुपेन्द्रबहादुर क्षेत्रीले योजनाहरुको प्राविधिक लागत स्टिमेट, योजना सम्झौता र निर्माण कार्यसम्पन्न गरि भुक्तानी समयमै लिन उपभोक्ता समितिहरुलाई अनुरोध गरेका थिए । ५ वडा १ सय ३० वटा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई हरेक वडामा दुई स्थानमा तालिम दिइने गाउँपालिकाले जनाएको छ । तालिमको सहजिकरण प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगाना, ईन्जिनियर सुजन पौडेल, लेखा प्रमुख लेखनाथ अधिकारी, योजना शाखाका खगराज गौतम र संयोजन शिक्षा संयोजक डेकबहादुर बानियाँले गरेका छन् । उपभोक्ता समिति विधिसम्मत रुपमा नचलेको गुनासो आइरहेको अवस्थामा योजना सम्पन्न गर्नु अगाडी सञ्चालन गरिएको तालिम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Leave a Reply