म्याग्दीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सोमबार सदरमुकाम बेनीमा सडकमै सचेतनामुलक कार्यक्रम गरिएको छ ।

यूवा सूचना केन्द्रको आयोजना, संगम म्याग्दी र नेपाल युथ काउन्सिल म्याग्दीको समन्वयमा इन्द्रेणी टोलमा आयोजित घरेलु हिंसा, बलात्कार, बालबिवाह, कामदार महिला, बोक्सी प्रथा, एसिड आक्रमण र आत्महत्या बिरुद्धको सचेतनामुलका कार्यक्रम प्रर्दशन गरिएको कार्यक्रम संयोजक रञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।

‘लैंगिक हिंसाको बिरुद्ध एकजुट हुन सामुहिक अपिल गरेका छौ,‘कोरोनाको जोखिमका बिच यसपटक विभिन्न रचनात्मक कार्यहरु गरेका छौ’ श्रेष्ठले भन्नुभयो ।

नेपालको नक्सामा ७ प्रदेश बनाएर ७ वटा सामाजिक सवालहरुमा युवायुवतीले आफ्नो नाट्यात्मक ढंगले प्रस्तुती दिएका थिए । ‘हिंसाको सातौं रङ’ नाम दिइएको प्रर्फमेन्स एक्टमा यूवापुस्ताले लैंगिक हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।

उक्त कार्यक्रमको निर्देशन गर्नुभएका संगम म्याग्दीका शिक्षा विकास कार्यक्रम संयोजक चन्द्रबहादुर बुढा मगरले सामाजिक सबालमा ध्यान दिन सकेमा लैंगिक हिंसाको अन्त्यमा सहज हुने बताउनुभयो ।

‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको एक्यबद्धता’ भन्ने राष्ट्रिय नारासहित म्याग्दीका विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीले मैनबत्ती प्रज्ज्वलन, अभिमुखीकरण तालिम, सन्देशमुलक सडक कार्यक्रम लगायत लैंगिक हिंसाको अन्त्यका लागि आवश्यक विभिन्न कार्यक्रम गरिएको गैसस म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताए ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई लैंगिक हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको हो । तसर्थ, हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाका विरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ ।

Leave a Reply