---Advertisement---

सेवाग्राहीमैत्री बन्दै जिल्ला प्रशासन कार्यालय

On: December 9, 2020 11:07 AM
Follow Us:

मंसिरको कठ्यांग्रिदो जाडोमा खाली खुट्टा, थोत्रा कपडा लगाएर धुलाम्मे अवस्थामा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रवेश गरेका रघुगंगा गाउँपालिका–१,बेगखोलाका ७५ बर्षिय ओमबहादुर फगामीलाई सेवाग्राहीको भिडबाटै प्रजिअ उमाकान्त अधिकारीले आफ्नो कार्यकक्षमा लगे ।म्याग्दी र मुस्ताङको भेडीगोठमा पाँचदशक विताएका फगामीलाई प्रजिअले आफ्नै कक्षमा राखेर नागरिकताको प्रमाणपत्र मात्रै दिएनन्, परिवारकै सदस्य जस्तै बनेर गोठालोको अनुभव समेत सुने ।

उमेरले आफै डाँडामाथिको घामजस्तै अवस्थामा पुगेको अवस्थामा पुगेका फगामी पहिलोपटक प्रशासनमा सेवाका लागि प्रवेश गरेका थिए। फगामीजस्तै बृद्धबृद्धा, अपाङ्ग, असाहयसँग प्रजिअ अधिकारीले दैनिकजसो आफ्नै कार्यकक्षमा भेट्छन् ।

जिल्ला प्रशासनको प्रवेशद्धारदेखि सेवाग्राहीले सेवा लिने स्थानसम्म विभिन्न सेवासुविधाहरू थपिएपछि सेवाग्राहीलाई सहज भएको छ। राहदानी, नागरिकता, संस्था दर्ता तथा नविकरण लगायत सेवा लिने कक्ष बाहिर सहायता कक्ष र वाइफाइको सुविधा छ। सेवाग्राहीले आफ्नो सेवामा कुनै समस्या आएमा सिधै प्रजिअलाई सुनाउन सक्ने गरी सेवाग्राहीलाई सन्तुष्टी बनाउने गरी संरचना तयार गरिएपछि सेवाग्राही समेत उत्साहित छन् ।

नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउन भन्दै प्रशासन कार्यालयले प्रवेशद्धारमा नै सेवाग्राहीको लागि सहायकता, महिलालाई आफ्ना सन्तानलाई दुध चुसाउन सहज होस् भनेर स्तनपान कक्ष, पत्रपत्रिका लगायत सन्देशमुलक जानकारी दिने साम्रागीहरु समेत राखिएको छ ।

दुर्गम क्षेत्रबाट आएका सेवाग्राहीलाई प्राथमिकता समेत दिने गरिएकोमा सेवाग्राही समेत सन्तुष्ट छन् । ‘प्रजिअले नै दाईलाई आफ्नो कार्यकक्षमा लैजादाँ डर लागेको थियो,‘दुर्गम र समस्या हेरेर पहिलो प्राथमिकतामै काम गरिदिनुभयो’ बेगखोलाबाट आएका फ बहादुर फगामीले भने ।

उनले कार्यालय अगाडी प्रहरी, कर्मचारी र भिडभाड देखेर प्रवेश गर्न आनकानी गरेका ओमबहादुरले प्रजिअसँग खुलेर कुराकानी गदैं फर्किएको उनले बताए ।यता प्रजिअ अधिकारीले सेवाग्राहीलाई मुस्कानसहितको सेवा र सेवामैत्री कार्यालयको सुरुवात प्रशासनबाटै गरिएको बताए।

‘सेवा लिन आउनेलाई प्रक्रियामा झन्झट पारेमा सिधै मेरो कार्यकक्षमा आउन सक्ने बनाएको छ,‘सेवाग्रहरीसँग मुस्कानसहित नम्र व्यवहारमा कर्मचारीलाई विषेश ध्यान दिन निर्देशन गरेको छु’ प्रजिअ अधिकारीले भने। उनले कुनै पनि सेवाग्राहीहरु कसैको भनसुनमा नभई स्वयंमले छिटो छरिटो र हुन सक्ने काम गर्न सक्ने वातवरण बनाएको बताए ।

प्रशासन कार्यालयमा लिने सेवा प्रवाहमा निबेदनहरु लेखे वापत निःशुल्क, विचौलियाहरुले बिभिन्न वाहनामा ठग्ने प्रबृत्तिको अन्त्यका लागि कर्मचारीबाटै सहयोग गर्ने गरिएको बताए । उनले हरेक कक्षबाट सेवा प्रवाहसँगै आफ्नो कक्षलाई सेवाग्राही सन्तुष्टी बनाउने कक्ष बनाएको बताए ।

कानुनी प्रक्रिया पुरा भएर आएका कुनैपनि काम नरोकिने र समयमै सम्पन्न हुने भएकाले हरेक कक्षमा प्रवेश गर्दा सेवाग्राही सन्तुष्ट हुने बताए । सेवाग्राहीले घरबाटै समेत आफुँले लिने सेवाका बारेमा जानकारी लिन सक्ने प्रजिअ अधिकारीले बताए। ‘सेवाप्रवाहमा आउने गुनासोमा सुधार हुन्छ, सेवाहरू थपिदै जान्छ’ प्रजिअ अधिकारीले भने । उनले नागरिक वडापत्र, वेभसाइट लगायत हरेक सूचनाहरु प्रविधीमैत्री बनाउने र अन्य सरकारी कार्यालयमा समेत सोही मोडेलमा सेवासुविधा विस्तारका लागि निर्देशन दिएको बताए । प्रजिअ अधिकारीले जिल्लाभित्रका रुग्न आयोजनाहरुको नियमित अनुगमन तथा समयमै सम्पन्न गर्न समेत दवाव दिने गरेका छन् ।

उनको पहलमा केही अलपत्र परेका योजनाहरु समेत सुचारु भएका छन् । जिल्लाका ६ वटै स्थानीयतहसँग समन्वय गरी विभिन्न योजनाहरु बनाएर अगाडी बढ्ने तयारीमा रहेको प्रजिअ अधिकारीले बताए । बाढीपहिरोबाट विस्थापितहरुको पुर्नवास सहितका अभियानमा समेत प्रशासनको भूमिका प्रभावकारी देखिएको छ ।