बेनी नगरपालिका-९,घतानकी दलित महिला सदस्य गोरी दर्जी पछिल्लो एकबर्ष यता चरम जातीय विभेदको शिकार भएकी छन्। जनप्रतिनिधि बनेर समुदायका समस्या समाधान गर्ने निकायमा पुगेकी दर्जी सार्वजनिक कार्यक्रममै अपमानित हुनुपरेको छ ।

सिंगो दलित समुदायको हकहितका लागि स्थानीय तहमा निर्वाचित भएकी दर्जीले कार्यक्रममा सहभागि भएर अत्याचारका बिरुद्ध बोल्नुमात्रै परेको छैन् गैरदलितले सार्वजनिकरुपमा अपमान गर्ने र अपशव्दको सामाना समेत गर्नुपरेको छ ।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा सामाजिक विकास मन्त्रालय र इन्सेकको संयुक्त आयोजनामा बेनीमा आयोजित कार्यक्रममा बेनी नगरकार्यपालिका सदस्य समेत रहेकी दर्जीले जातिय विभेदको बिरु्द्ध बोल्दा समुदायमै वडा सदस्यबाट समेत राजीनामा मागिएको गुनासो समेत गरिन् ।

 

‘मैले नगरपालिका भित्रकै तीनवटा मन्दिरमा आयोजित सम्मान कार्यक्रममा कथित माथिल्लो जातका जनप्रतिनिधिकै अगाडी अपमानित हुनुपरेको छ,‘दलित समुदायलाई मैले न्याय दिन सक्ने अवस्थामा छैन’ उनले भनिन् ।

उनले जनप्रतिनिधिलाई सम्मान गर्न बोलाइएको कार्यक्रममा टिका लगाउन समेत आयोजकले अस्वीकार गरेको गुनासो गरिन् ।‘स्नातक तहमा पढ्ने छोरीले भुटेको अन्न लिएर जाँदा कुटानीपिसानी गर्ने मिलमा समेत प्रवेश पाइनन्,‘मेरो परिवार नै विभेदमा परेका छन्’ उनले भनिन् । दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने, समुदायस्तरमै गैरदलितले योजनाबद्ध तरिकाले अपमान गर्ने गरेको र पानी छोइदिएको भन्दै खान नमानेको तितो अनुभव सुनाईन् ।

‘मैले दलित समुदायको हितमा काम गर्दा भोट हाल्नेले नै राजिनामा मागे,‘भोट नहाल्ने र हाल्नेहरु एकजुट भएर गाउँमा घेराबन्दी गरे’ उनले भावुक हुदै भनिन् ।

दलित भएकै कारण आफ्नै वडाभित्र समेत असुरक्षित रहेको उनको भनाई छ । ‘सार्वजनिक ठाउँमा कयौंपटक हेपिनुपरेको छ,‘दलित बाहुल्य क्षेत्रमा पनि मैले बोल्न सक्ने अवस्था छैन’ उनले भनिन् । दर्जीसँगै छेउमा बसेकी बेनपा–१० की वडा सदस्य गौरी नेपालीले दलितको भोट चल्नेलाई जितेपछि पानी नचल्ने बताईन्।

कार्यक्रममा संविधानसभाका सभासद नवराज शर्मा, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जातिय विभेद विरुद्ध प्रतिबद्धताले मात्रै नपुग्ने बताए ।

सोह्री अवसरमा बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदी,बेनपा ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, नागरिक समाज म्याग्दीका संयोजक शुदर्शन कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, गैसस महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेल लगायतले बोलेका थिए ।

मानवअधिकार तथा शान्ति समाजका पूर्व सभापति मुक्तीप्रसाद ढुङ्गानाले जातिय विभेद र कोभीड–१९ ले महिलामा पारेको असरका बारेमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि इन्सेक प्रतिनिधि अमृत बास्कुनेले टिप्पणी गरेका थिए ।

Leave a Reply