म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतको सिद्ध आश्रम वाखेतमा कोरोना भाइरस भगाउनका लागि महायज्ञ लगाइएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सक्रमण रोकथाम गर्न भन्दै ९ दिनसम्म महायज्ञ आयोजना गरिएको हो । आश्रमका ब्रह्माचारी देव भट्टराईको सङ्कल्प र अशोककुमार रोकाको अध्यक्षतामा यही मंसिर १६ गतेदेखि आजसम्म महायज्ञ लगाइएको आयोजक समितिका सचिव ईन्द्र मल्लले बताए । पर्यटकीय क्षेत्र समेत रहेको सिद्धभुमि भङ्कासेको फड्के भन्न ठाउँमा शतचण्डी नवाह शक्तिपुजा अर्थात् महायज्ञ लगाइएको स्थानीयवासी गोविन्द पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार महायज्ञको कार्यक्रममा साविक पात्लेखेत गाविसको ९ वटै वडाबाट हरेक दिन वडाअनुसार पालो लगाएर स्थानीयवासिन्दाहरु सहभागी भएका थिए । वि.सं. २०२२ सालमा बालबह्माचारी झ्याम्पाली महाराजले उक्त ठाउँमा तपस्या गरी ब्रह्मज्ञान प्राप्त गरेको हुँदा आफूले चाहेको मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

समुन्द्री सतहदेखि २१ सय मिटरको उचाइमा अवस्थित आश्रमको नजिकै जस्तोसुकै खडेरीको समयमा पनि कहिल्यै नसुक्ने धारो तथा तलाउ रहेको स्थानीयवासी बताउँछन् ।

महायज्ञको अवधिभर दैनिक रुपमा १५ जना पण्डितहरुले नित्य पुजाआजा, हवन, रुद्री र चण्डीपाठ गरेका थिए । कोरोना भाइरसको विरुद्ध जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना गरी महायज्ञ सम्पन्न गरिएको समितिका सचिव मल्लले बताए । विगतमा पनि महामारी आउँदा यस आश्रममा महायज्ञ लगाउने गरिन्थ्यो ।

Leave a Reply