नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ म्याग्दीले जिल्लाको निजी तथा सामुदायिक विद्यालयले कोरोना महामारीको समयमा बन्द भएको पठनपाठनको पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ। कोरोनाको जोखिमले ८ महिनासम्म बन्द भएको पठनपाठनको शुल्क, एसइईको मार्कसिट, कक्षा ११ र १२ को शुल्क समेत असुल्नेको भन्दै तत्काल रोक्न माग गरेको हो ।

बुधबार जिल्ला प्रशासान कार्यालय र बेनी नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै निजीसँगै सामुदायिक विद्यालयले समेत विद्यार्थीलाई मानसिक तनाव दिने गरेको भन्दै तत्काल अनुगमनको कार्यक्रम सहित आउन समेत ध्यानर्कषण गराएको हो ।

नेविसंघ म्याग्दीका उपसभापति झलक खत्री, सचिव विशाल खत्री, म्याग्दी बहुमुखी क्याम्पस इकाई सभापति सुजता खत्री लगायतको उपस्थितीमा प्रजिअ उमाकान्त अधिकारी र बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन्।

‘परीक्षामा सहभागि हुन शुल्क मागिएको छ,‘विद्यार्थीबाटै धेरै प्रमाणसहितको विवरण प्राप्त भएको छ’ नेविसंघ म्याग्दीका सभापति निर्मल खत्रीले भने।उनले बेनीबजार तथा आसपासका सामुदायिक विद्यालयले कक्षा ११ र १२ को परीक्षामा सहभागि हुन समेत शुल्क नदिए नपाउने भन्दै धम्काउने गरेको बताए ।

नियमितरूपमा पठनपाठन नभएको अवस्थामा पनि विभिन्न वहानामा शुल्क मात्र उठाउने काम तत्काल बन्द नभए थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी समेत सभापति खत्रीले दिएका छन् । उनले एसइईको मार्कसिटका लागि केही विद्यालयले ६ हजारसम्म अशुल्ने गरेको सूचना समेत आएको बताउँदै विद्यालयका प्रधानाध्यापकलाई सचेत समेत बनाएको बताए ।

नेविसंघले जिल्लाभरका विद्यालयलाई कोरोनाको समयमा कुनैपनि शुल्न नलिने भन्दै घोषणा गर्न समेत सचेत बनाएको छ । यता ज्ञापनपत्र बुझ्दै विद्यार्थीलाई मारमा पर्ने गरी काम नगर्न सार्वजनिक र गल्ती भेटिएमा कारवाहीको प्रतिबद्धता समेत सम्बन्धित निकायले गरेका छन् ।

Leave a Reply