गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले लैङ्गिक हिंसाको अन्त्य गर्नुपर्ने जरुरी रहेको बताएकी छन् । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको एक्यबद्धता’ भन्ने राष्ट्रिय नारासहित आयोजित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बेनीमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

म्याग्दी जिल्लामा महिला हिंसाको अवस्था, डकुमेन्ट्री प्रदर्शन साथै स्त्री रोगसम्बन्धी प्रशिक्षण कार्यक्रममा मन्त्री पुनले हिंसा भनेको आफूले नचाहेको कुरा अरुको व्यवहारबाट हुनु नै हिंसा भएको बताइन् । उनले भनिन्, ‘हिंसा अन्त्य गर्नका लागि हरेक व्यक्ति आफ्नो ठाउँमा जागरुक हुनुपर्छ र जानेको कुरा व्यवहारमा लागू गर्नुपर्छ ।’ ‘हामी समाजको अगुवा व्यक्ति भएकाले आफूभन्दा तल रहेका व्यक्तिको उत्थान गर्नुपर्छ, आफूले सिकेको ज्ञान, सिप र व्यवहारबारे अरुलाई पनि सिकाउनुपर्छ’ मन्त्री पुनले भनिन् । मन्त्री पुनले सामाजिक विकास मन्त्रालयमार्फत चालु आर्थिक वर्षमा बालविवाह न्युनीकरण, लैङ्गिक हिंसाको अन्त्य, सामाजिक कुरितीको व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि प्रदेश भित्रका ८५ ओटै स्थानीय तहलाई ८० लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिएकी छन् । उनले बजेट छुट्याएर मात्रै नहुने भएकाले त्यसको पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्र विकासको पहिलो शर्त योग्य, दक्ष तथा अनुशासित नागरिक उत्पादन गर्नु भए पनि सबै क्षेत्रबाट भौतिक पूर्वाधार निर्माणको मात्रै बजेट माग हुने गरेको भन्दै मन्त्री पुनले सामाजिक विभेदको अन्त्यसहित योग्य नागरिक बनाउन स्थानीय तह लागिपर्नुपर्ने बताइन् । उनले सुत्केरी हुने अवस्थामा अत्यधिक रक्तस्रावका साथै कुनै पनि स्वास्थ्य समस्याबाट सबैलाई जोगाउनुपर्ने र महिलाको अवस्था बढी जटिल हुने हुनाले सबैले त्यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।

फरक प्रसङ्गमा मन्त्री पुनले प्रदेशका सबै स्थानीय तहलाई मन्त्रालयले बालविवाह न्युनीकरण, लैङ्गिक हिंसा, सामाजिक कुरिती न्युनीकरणमा कस्तो बजेट तथा कार्यक्रमहरु रहेको विषयमा जानकारी माग गरिएको बताइन् । कार्यक्रममा लमजुङ जिल्ला अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर हेमा छन्त्यालले महिलाको पाठेघर खस्ने समस्या, यसको असर, कारणहरु, लक्षण तथा उपचार विधिका विषयमा सहजीकरण गरेकी थिइन् ।

उनले रोग लुकाएर बस्न नहुने बताउँदै समयमा नै स्वास्थ्य संस्थामा उपचार गर्न गएमा रोगबाट हुनसक्ने सम्भावित जोखिमलाई कम गर्न सकिने विषयमा समेत जानकारी गराएकी थिइन् । यसैगरी १ जनाले ५ जनाको ज्यान बचाउने अभियानका अभियन्ता डा. लक्ष्मी पन्थीले ‘यु क्यान सेभ फाइप लाइभ्स’सम्बन्धी विषयमा सहजीकरण गरेकी थिइन् ।

हातेमालो अभियान नेपालको अध्यक्ष समेत रहेकी डा. पन्थीले मानिसको घाँटीमा खाना वा बाह्य वस्तु सर्किनु, हृदयघाट, बाह्य रक्तस्राव, बेहोस हुँदा तत्काल घटनास्थलमा कसरी बचाउन सकिने सिपको प्रयोगात्मक एवं सैद्धान्तिक विषयमा सहजीकरण गरेकी थिइन् । उक्त कार्यक्रमको अवसर पारेर सहजीकरणका क्रममा प्रयोगात्मक अभ्यास समेत गरिएको थियो भने भिडियो डकुमेन्ट्री देखाइएको थियो । कार्यक्रममा महिला अधिकार मञ्च म्याग्दीका अध्यक्ष दिवाकुमारी पुनले म्याग्दी जिल्लामा महिला ंिहंसाको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । अध्यक्ष पुनको अध्यक्षता, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दिपक पौडेलको स्वागत र कोषाध्यक्ष ज्योती लामिछानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले मन्तव्य राखेका थिए ।

गैरसरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेशको संयोजन तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग, महिला अधिकार मञ्च म्याग्दी र गैसस म्याग्दी शाखाको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमको जिल्ला समन्वय समिति, मंगला र कालीगण्डकी आमा समूह, नारी जागृति महिला विकास बहुउद्देश्यीय, सहकारी, संगिनी तथा दिदी बचत तथा ऋण सहकारी संस्था, कदम, मिलन, संगम, पिस म्याग्दी र महिला मानवअधिकार रक्षक सञ्जालले सहकार्य गरेका थिए ।

Leave a Reply