इजरायलका अन्तरिक्ष सुरक्षा कार्यक्रमका पूर्वप्रमुख हैम इशेदले ब्रह्माण्डमा एलियनको अस्तित्व रहेको दाबी गरेका छन्। उनले एलियनको अस्तित्व रहेकोमात्र होइन, उनीहरुको सम्पर्क अमेरिका र इजरायलसँग रहेको दावी पनि गरेका छन्।गत शुक्रबार हिब्रु भाषाको एक इजरायली अखबारमा प्रकाशित अन्तरवार्तामा उनले यस्तो दावी गरेका हुन् । अङ्ग्रेजी भाषाको ‘येरुसेलम पोस्ट’मा मंगलबार उक्त अन्तरवार्ताको अनुवाद प्रकाशित भएपछि यसले ठुलो चर्चा पाएको हो ।

इशेदले यो तथ्यलाई तत्काल मानव समाजले स्वीकार गर्न नसक्ने भएकै कारण अहिलेसम्म गोप्य नै राखिएको बताएका छन् । करिब तीन दशकसम्म इजरायलको अन्तरिक्ष सुरक्षा कार्यक्रमलाई सम्हालेका उनले एलियनहरुले ‘गालेक्टिक फेडरेसन’ नै बनाएको र त्यसमार्फत अमेरिकासँग गोप्य सम्झौता भएको दाबी पनि गरेका छन् । सोही सम्झौताअन्तर्गत मंगल ग्रहमा एउटा अखडा सञ्चालन भएको र त्यहाँ अमेरिकी अन्तरिक्षयात्री पनि मौजुद रहेको उनको भनाइ छ ।

इशेदका अनुसार यो तथ्यसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रो जानकारी छ । ट्रम्पले एलियनको अस्तित्वबारे खुलासाको तयारी गरिरहेकै समयमा एलियनहरुले नै त्यसो नगर्न दबाब दिएको इशेदको भनाइ छ । उनका अनुसार एलियनले अन्तरिक्ष र अन्तरिक्षयानका बारेमा जानकारी विकसित नहुन्जेलसम्म सार्वजनिक नहुने निर्णय गरेका छन् ।

https://www.indiatimes.com/

ट्रम्पको कार्यकालमा केही एलियन पृथ्वीमा आएको र ती एलियन र अमेरिकी सरकारबीच केही सम्झौतासमेत भएको इशेदको दाबी छ । स्मरणीय छ, सन् २०१८ मा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी अन्तरिक्ष कमाण्डका रुपमा सेनाको एउटा छुट्टै संरचना बनाउने घोषणा गरेका थिए ।

इशेदका अनुसार एलियनले अमेरिकी एजेन्टहरुसँग मिलेर ब्रह्माण्डको संरचना बुझ्न चाहेका छन् । मानिसहरुमा धेरै उन्माद नहोस् भनेर नै एलियनले यो रहस्यलाई अझै केही समय रहस्यकै रुपमा राख्न चाहेको उनको भनाइ छ । मानिसहरु यस्ता तथ्यको जानकारी पाउनु अघि मानसिक रुपमा स्वस्थ र समझदार बन्न जरुरी रहेको ‘गालेक्टिक फेडरेसन’ले भनाइ रहेको पनि उनले प्रस्ट पारे ।

अमेरिकी सरकार र एलियनबीच भएको सम्झौता अनुसार पृथ्वीमा एलियनले परीक्षण गर्न पाउनेछन् । उनीहरुले ब्रह्माण्डको संरचना लगायतका विषयमा अनुसन्धान गरिरहेको र त्यसमा आफूहरुको मद्दत चाहेको इजरायली विशेषज्ञको भनाइ छ ।

आफूले ठुलो हिम्मतका साथ यो तथ्यलाई खुलासा गरेको भए पनि यसलाई सत्यका रुपमा स्वीकार गरिन्छ भन्ने विश्वास आफूलाई नै नभएको उनले बताए । ‘पाँच वर्ष अघि मैले यो कुरा भनेको भए मलाई अस्पताल भर्ना गराइन्थ्यो होला,’ उनले भनेका छन् । आफूले केहीलाई यसबारे जानकारी दिएको र उनीहरुले प्रतिक्रियास्वरुप आफूलाई ‘मानसिक रोगी’ भनेको पनि उनले जनाए । अहिले आफूले यो जानकारी सार्वजनिक गर्नुमा शैक्षिक परिदृष्य विकसित हुँदै गएको र आफू एकेडेमिक क्षेत्रमा रहनु नै मुख्य कारण रहेको उनले प्रस्ट पारेका छन् ।

उनले अगाडि भने, ‘मसँग गुमाउन केही छैन, मैले डिग्री र अवार्डहरु पाएको छु, विश्वका विश्वविद्यालयहरुमा सम्मानित भएको छु ।’ उनले एलियनको बारेमा पुस्तकसमेत लेखेका छन्, जसमा एलियनले कसरी पृथ्वीमा परमाणु त्रासदीलाई रोक्न मद्दत गरे भन्ने उल्लेख छ । इशेद सन् २०११ मा सेवानिवृत्त हुँदा इजरायली मिडियाले उनलाई ‘इजरायलको अन्तरिक्ष कार्यक्रमका जनक’ भनेका थिए ।

अमेरिकी मिडिया एनबीसी न्यूजले इशेदका दावीबारे ह्वाइटहाउस र इजरायलका अधिकारीहरुसँग प्रतिक्रिया लिन खोज्दा उनीहरुबाट कुनै जवाफ नपाएको जनाएको छ । पेन्टागनका प्रवक्ता सू गफले पनि यसबारे कुनै टिप्पणी गर्न नचाहेको एनबीसी न्यूजले जनाएको छ । नासाको एक प्रवक्ताले भने ब्रह्माण्डमा अलौकिक जीवनको खोज प्रमुख लक्ष्य रहेको र अहिलेसम्म त्यस्तो संकेत प्राप्त नभएको प्रतिक्रिया जनाएको उक्त समाचार संस्थाले जनाएको छ । स्रोत : एनबीसी न्यूज

Source: Ratopati.com

Leave a Reply