म्याग्दीको मंगला गाउँपालिकाको बावियाचौरमा महिला सचेतना कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरिएको छ ।

स्थानीय जनआदर्श महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना, मंगला गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गदैं संविधान सभा सदस्य नवराज शर्माले हिंसा अन्त्य गर्नका लागि हरेक व्यक्तिले आफ्नो ठाउँबाट सक्रियता देखाउनुपर्ने बताए ।

उनले म्याग्दीमा पछिल्लो समयको तथ्यलाई हेर्ने हो भने महिला र पुरुष दुवै नै हिंसाको बराबर सिकार भएको देखिने बताउँदै हिंसाको विपक्षमा सबै एकजुट भए न्यूनिकरणको अभियान प्रभावकारी हुने शर्माको भनाई छ । कुनै पनि समस्या समाधान गर्न सामाजिक रुपमै निरुत्साहीत गर्दै जानु पर्ने शर्माको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बालविवाह न्युनीकरण, लैङ्गिक हिंसाको अन्त्य, सामाजिक कुरिती बिरुद्धका अभियानहरुलाई हरेक समय प्राथमिकता दिने बताउँदै समुदायस्तरबाटै आफूले सिकेको ज्ञान, सिप र व्यवहारबारे अरुलाई पनि सिकाउनुपर्ने बताए ।

सचेतनामुलक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले एकले अर्कोलाई सम्मान गर्ने अवस्था आएमा हिंसाका हरेक बाटो बन्द हुने बताए ।

कार्यक्रमको पहिलो सत्रमा म्याग्दी जिल्लामा महिला हिंसाको अवस्था, डकुमेन्ट्री प्रदर्शन र दोस्रो सत्रमा जनस्वास्थ्य सम्बन्धि जानकारीमुलक कार्यक्रम सञ्चालन गरिएको थियो । सोही अवसरमा वडा अध्यक्ष धनबहादुर खाती क्षत्री, गाउँपालिका शिक्षा शाखा प्रमुख डेकबहादुर बानियाँले लैङ्गिक हिंसाको अन्त्यमा साझा सहकार्य आवश्यकतामा जोड दिएका थिए ।

महिलाको लगानी र ब्यवस्थापनमा सञ्चालित सहकारीले महिला हिंसा बिरुद्धका अभियानसँगै विभिन्न सचेतनामुलक कार्यक्रम, आयआर्जनको क्षेत्रमा समेत प्राथमिकता दिएको सहकारीकी अध्यक्ष यसुदा रोकाले बताईन्।

अध्यक्ष रोकाको अध्यक्षता, उपसचिव सिता किसानको स्वागत र प्रबन्धक दिलकुमारी खत्रीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा मंगला माविका प्रधानाध्यापक गमबहादुर खत्री, स्थानीय बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको एक्यबद्धता’ भन्ने राष्ट्रिय नारासहित आयोजित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सबै स्थानीय तहमा विभिन्न कार्यक्रम गरी समापन गरिएको छ।

Leave a Reply