पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । महिला हिंसाको वर्तमान अवस्था र कोभिड–१९ ले महिलाको स्वास्थ्यमा पारेको असरका बारेमा अभिमुखीकरण गरिएको हो ।

‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको एक्यबद्धता’ भन्ने यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको राष्ट्रिय नारासहित अभिमुखीकरण कार्यक्रम गरिएको छ । मालिका गाउँपालिका र शान्तिका लागि साझा अभियान (कोक्याप)को सहकार्य तथा मिलन म्याग्दी र महिला अधिकार मञ्चको आयोजनामा कार्यक्रम गरिएको आयोजकले जनाएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले लैङ्गिक हिंसा न्युनीकरण गरी सभ्य व्यक्ति र सभ्य समाजको निर्माण गर्नुपर्ने बताइन् । उनले लैङ्गिक हिंसा न्युनीकरण गर्नका लागि विभिन्न संघसंस्था, नागरिक समाज, सरोकारवाला निकाय, अगुवा व्यक्ति सबै मिलेर अगाडि बढ्नुपर्ने भन्दै समाजमा हुने लैङ्गिक, घरेलु र सामाजिक हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएकी छन् ।

कार्यक्रममा मालिका–६, दरबाङका वडा अध्यक्ष सन्तोष सुवेदीले लैङ्गिक हिंसा न्युनीकरण गर्नका लागि सबै मिल्नुपर्ने बताउँदै समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा वडा कार्यालयमार्फत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त सचेतनामूलक कार्यक्रममा मालिका गाउँपालिकाको सबै वडाबाट महिला जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, कर्मचारी, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका र प्रहरीको सहभागिता थियो ।

अभिमुखीकरणमा म्याग्दी जिल्लामा महिला हिंसाको अवस्था, ग्रामीण महिलाको जीवनशैली र आर्थिक सशक्तिकरण, नेपालको संविधान–२०७२ मा महिलाको हक तथा अधिकारको व्यवस्थालगायत विविध विषयहरुमा सहजीकरण गरिएको थियो । कार्यक्रममा महिला अधिकार मञ्चका अध्यक्ष दिवाकुमारी पुन, सल्लाहकार जमुना आचार्य, मिलन म्याग्दीका सचिव दिलमाया बिटालु र पत्रकार प्रताप बानियाँले सहजीकरण गरेका थिए । सोही क्रममा सन्देभमूलक चलचित्र ‘भुसको लोग्ने’ नामको भिडियो डकुमेन्ट्री समेत देखाइएको थियो ।

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलको विशेष आतिथ्य रहेको कार्यक्रम महिला अधिकार मञ्चका अध्यक्ष दिवा पुनको अध्यक्षता, सल्लाहकार जमुना आचार्यको स्वागत र मिलनका सचिव दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply