म्याग्दीमा ‘प्रसुतीको घरघरमा स्वास्थ्यकर्मी’ अभियान सञ्चालन गर्ने भएको छ । प्रसुतीको चरणमा प्रवेश गरेका महिलाहरुको स्वास्थ्य जटिलता कम गर्न र आमा र बच्चामा आइपर्ने सम्भावित जोखिमको न्युनीकरण गर्ने उद्देश्यले स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानीय तहमा एकैपटक अभियान सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य कार्यालयले बेनीमा एक अभिमुखीकरण तालिम सञ्चालन गरी प्रसुतीपछि तीनपटक स्वास्थ्यचौकीमा चेकजाँच गर्न आउनुपर्ने अवस्थामा अव घरमै गएर स्वास्थ्यकर्मीले सेवा दिने गरी नयाँ कार्यक्रम लागु भएको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले बताए ।

उनका अनुसार गर्भावस्थामा हुने जटिलताका कारण बढ्दै गएको मातृ मृत्युदरलाई कम गर्न र महिलाहरुको प्रजनन् अधिकारका बारेमा समेत सचेतना फैलाउन यो अभियान सञ्चालन गरिएको बताए ।

‘यो अभियानले जिल्लाका दुर्गम बस्तीमा महिलालाई धेरै सहज हुन्छ,‘ नियमित चेकजाँचसँगै जटिल समस्याको पहिचान हुन्छ’ लम्सालले भने । अभिमुखीकरण तालिममा जिल्ला समन्वय प्रमुख देबेन्द्रबहादुर केसीले सुत्केरी अवस्थामा धेरै जटिल हुने भएकाले यस कार्यक्रमको लक्ष्य अनु्सार परिचालन हुनुपर्ने बताए ।

सोही अवसरमा प्रजिअ उमाकान्त अधिकारीले म्याग्दीको भूगोल सुहाउँदो कार्यक्रम आएको बताए । प्रजिअ अधिकारीले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह समेत गरे ।

बेनी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र सहित ३९ स्वास्थ्य चौकीमा सेवा लिनेहरुको विवरण अनुसार स्वास्थ्यकर्मी घरमै जानेछन् । घरभित्र हुने असुरक्षित प्रसुतीलाई समेत यस अभियानमार्फत न्यूनिकरण गर्ने स्वास्थ्यकर्मीको भनाई छ । अभिमुखिकरण कार्यक्रममा स्थानीय तहका स्वास्थ्य संयोजक लगायतको उपस्थिती रहेको थियो ।

 

 

 

 

Leave a Reply