जमिन बाँझै छ। खानेपानीको अभाव उस्तै छ। चिसोले ज्यान जोगाउनै मुश्किल छ। अर्कोतिर उत्पादन गर्ने अवस्था छैन। सिँचाइको सुविधा छैन। सिँचाइको सुविधा नहुँदा लोमान्थाङस्थित लो घेकर दामोदर कुण्ड गाउँपालिकाका घिलिङ र ढाकमारका स्थानीय भने गाँउ छोड्ने मनस्थितिमा पुगेका छन्।

घिलिङ र ढाकमार बीउ विजन केन्द्रको रुपमा परिचित छ। घिलिङ फाँटमा स्याउसंगै आलु, साग, मुला, मेथी, फापर, उवा, गहुँ, जौंलगायतका बाली उत्पादन हुँदै आएका छन्। १७५ हेक्टर जमिन बाँझो छ। ६८ घरपरिवारको स्थानीयको एउटै माग छ–‘सिँचाइ सुविधा नदिने हो भने बसाई सराईको सिफारिस देउ।’ लो घेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सम्तेन ढावा गुरुङले सिँचाइको लागि धेरै पहल गरिएको भएपनि सुनुवाई कतैबाट नभएको पीडा सुनाए। ‘सिँचाइ सुविधा नहुँदा थातथलो नै छाडेर अन्यत्र जानको लागि सिफारिस मागेका छौं।’ उनको भनाइ थियो।

नेपाल सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा दिएको छ। तर उपल्लो मुस्ताङवासी सिँचाइ सुविधा नहुँदा आफ्नो फाँटलाई बहुउपयोग गर्नबाट बन्चित छन्। माटोको मरुभूमी शहर भनेर चिनिने लोमान्थाङलाई भौगोलिक विकटता एकातिर छ अर्कोतिर वर्षा नहुँदाको पीडा पनि उस्तै छ। ‘स्याडो रेन जोन’को रुपमा रहेको लोमान्थाङमा सिँचाइ सुविधा नहुँदा थातथलो नै छोडेर हिँड्नुपर्ने बाध्यतालाई गण्डकी प्रदेश सरकारले सम्बोधन गर्ने प्रयास गरेको छ।

हिमाली जनजीवन निकै कष्टकर छ। हिँउदमा हिँउ परेर बढी चिस्यानले बालीनाली नष्ट हुन्छ। खेतीयोग्य फाँटको रुपमा रहेको भएतापनि हालसम्म सिँचाइको अभावका कारण जग्गा बाँझै राख्नुपर्ने बाध्यता गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतलाई स्थानीयवासीले सुनाए। ‘प्रदेश सरकारलाई हामीले आफ्नो माग राखेका छौ अबपनि माग पुरा नभए हामी बसाइसराइका लागि निवेदन चढाउने तयारीमा छौ।’वडाध्यक्ष गुरुङले भने–‘बिकासको काम नगर्ने हो भने यो ठाउमा बस्नुभन्दा अन्यत्रै बसाइ सर्न ठीक हुन्छ।’

सिँचाइ र कृषि कार्यालयमा वर्षौदेखि धाउँदा पनि हाल गण्डकी प्रदेश सरकारले ३० लाख मात्र बजेट उपलब्ध गराएको र त्यसले कुनैपनि काम नहुने भन्दै अध्यक्ष गुरुङले सिर्तुङ सिँचाइका लागि पाँच करोड बजेट आवश्यक पर्ने बताए। घिलिङ फाँटमा नजिकैको सिर्तुङ खोलाबाट ४ किलोमिटर नहरबाट सिँचाइ ल्याउन सकिने अध्यक्ष गुरुङले जानकारी गराए। घिलिङ फाँट उत्पादन योग्य ठाउँ रहेकाले उक्त ठाउँमा बिउविजन उत्पादन गरी समग्र मुस्ताङमा बिउहरु उपलब्ध गराउन सकिने समेत स्थानीयहरु बताउँछन्।

विकास निर्माणको अनुगमनका लागि उपल्लो मुस्ताङको घिलिङ पुगेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले तीन तहको सरकार हुँदा पनि सरकारले जनताको समस्याको समाधान गर्न नसक्नु आफैमा दुःखद् पक्ष भएको जिकिर गरे। लोघेकर दामोदर कुण्ड गाउँपालिकाको वडालाई घिलिङ फांँटको सिँचाइका लागि गण्डकी प्रदेश सरकारले सहयोग गर्नेमा ढुक्क रहन आग्रह गरे। मन्त्री बस्नेतले भने–‘घिलिङ बासीले अव बसाइसराइको कुरा गर्नु पर्दैन अव प्रदेश सरकारले तपाईहरुको गाउँको खानेपानी र सिँचाइका लागि पूर्ण प्रतिबद्धतासहित काम गर्नेछ।’ उपल्लो मुस्ताङबाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले सरकारले जनताको समस्यालाई नियालेर समस्याको समाधान गर्ने प्रतिबद्धता गरे। nagariknews.com

Leave a Reply