ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन ९बिबिसी० तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा पर्नुभएकी म्याग्दीकी सपना रोका मगरलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीले बधाई ज्ञापन सहित स्वागत गरेको छ ।

बेवारिसे लासको ब्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहेकी मंगला गाउँपालिका–४ बरंजा बुकेनीकी रोका मगरलाई प्रजिअ उमाकान्त अधिकारीले संसारभरका १ सय प्रेरणादायी महिलाहरुको सूचीमा स्थान पाएर म्याग्दीको शीर उच्च बनाएको भन्दै कार्यकक्षमै सम्मान गगर्नुभएबो हो ।

घरायसी तथा विभिन्न सामाजिक कार्यमा सहभागि हुन म्याग्दीमा आएकी रोका मगरलाई बेवारिसेको ब्यवस्थापन, विपन्नको उपचारका साथै मानवीय सेवाका अभियानलाई समेत प्राथमिकता दिन प्रजिअ अधिकारीले अनुरोध गर्नुभएको थियो ।

‘तपाईको सफलतासँग म्याग्दीको नाम पनि जोडिएको छ,‘मानवीय अभियान्ताको यात्रा कहिल्यै टुंगिदैन, गृहजिल्लाका अभियानमा पनि साथ दिनुहोला’ प्रजिअ अधिकारीले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट लिने सेवाहरुका बारेमा समेत जानकारी दिदैं प्रजिअ अधिकारीले मानवीय सहायता र सहयोगमा नेपालमै म्याग्दी उदारणीय जिल्ला भएको समेत बताउनुभयो । सोही अवसरमा रोका मगरले म्याग्दीमा केही नयाँ योजना सहित आउने प्रतिबद्धता जनाउनुभएको थियो ।

‘जन्मभूमिलाई प्राथमिकता दिएर काम गर्छु,‘अबको धेरै यात्राहरुमा मैले जिल्लालाई पनि प्राथमिकता दिएर जाने सोच बनाएको छु’ रोकामगरले भन्नुभयो । भेटघाटसँगै रोकामगरले आफ्ना केही योजनाका बारेमा समेत प्रजिअ अधिकारीलाई जानकारी गराउनुभएको थियो ।

Leave a Reply