पर्वत कारागारमा थुनामा रहेको अवस्थामा बेहोस भएका सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द् (विप्लब) नेतृत्वको नेकपाका नेताको मृत्यु भएको छ ।

विप्लब समुहका म्याग्दीका नेता जगेन्द्र पुन (जगत) को निधन भएको हो । अभद्र ब्यबहार सम्बन्धी मुद्दामा जिल्ला कारगार पर्बतमा थुनामा रहेकै अबस्थामा उच्च रक्तचापको कारण बेहोस भई ढलेका म्याग्दीको मालिका गाउँपालिका-३ अदिभाराका ५८ वर्षीय पुनको सोमबार पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो ।

सघन उपचार कक्षको भेन्टिलेटरमा राखिएका पुनलाई अस्पतालले सोमबार अपराहन्न मृत घोषणा गरेको परिवारका सदस्यले बताएका छन् । मंसिर २४ गते दिउँसो १२ बजे पर्वत कारागारमा बेहोस भएका पुनलाई पोखरा लगेर भेन्टिलेटरमा राखिएको थियो ।

पुनका आफन्तहरुले भने प्रशासन र सुरक्षा निकायले नियमित र समयमै औषधी उपचारमा ध्यान नदिएको तथा लापरबाहीका कारण मृत्यु भएको बताउँदै शब बुझ्न अस्विकार गरेका छन् । पुनका छोरा हिमालले राजनीतिक आस्थाका आधारमा उपचारमा हेलचेक्राई भएको र बिरामी भएपछि परिवारलाई समयमै खबर नगरेको दुखेसो पोख्नुभयो ।

उहाँले बुवाको मृत्युको बिषयमा स्वतन्त्र छानबिन नगरे सम्म शव नबुझ्ने र दवाबका लागि मानवअधिकारबादी संघ संस्थालाई अपिल गर्नुभएको छ । उपचारमा बेवास्ता गरिएको भन्दै छानबिनको माग गर्दै मानब अधिकार आयोगमा समेत निवेदन दिनुभएको छ ।

‘मृत्युको कारण रोग मात्र नभई अरु पनि हुन सक्छ । उहाँलाई पटक-पटक पक्राउ गर्दै धरौटी मागेर हैरान बनाइयो । हामीलाई समेत मानसिक रुपमा टर्चर भएको छ,’ पुनले भन्नुभयो ‘हिरासतमा भएकोको स्वास्थ्य उपचार र जिउधनको सुरक्षा गर्न नसक्नुमा सरकारको गम्भिर लापरबाही हो ।’

माओवादी जनयुद्धमा भूमिगत हुनुभएका पुन बिप्लप नेतृत्वको नेकपाको तत्कालीन जिल्ला जनसरकार प्रमुख हुनुहुन्थ्यो। उहाँलाई २०७६ फागुन ९ गते पहिलो पटक घरबाटै पक्राउ गरेर अभद्र ब्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो । त्यसै गौहत्या सम्बन्धी अर्को मुद्दा लगाइएका पुनलाई अदालतले ५४ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

गौहत्या मुद्दामा छुटेलगत्तै दोस्रो पटक गिरफ्तार भएका पुनलाई जिल्ला प्रशासन कार्यालयले अभद्र ब्यवहार मुद्दामा मागेको एक लाख १८ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि म्याग्दी कारागार चलान गरिएको थियो ।

जग्गा रोक्का राखेर धरौटी बुझाएपछि रिहा भएलगत्तै तेस्रो पटक पक्राउ परेका पुनलाई अभद्र ब्यवहार सम्बन्धी मुद्दामा पर्वत स्थानान्तरण गरिएको थियो । गत कात्तिक तेस्रो हप्ता पर्वत लगिएका पुनलाई पर्वत जिल्ला अदालतले मागेको ५० हजार रुपैयाँ धरौटि तिर्न नसकेपछि कारागार चलान गरिएको थियो । खेति किसानी गरेर जिबिकोपार्जन गर्दै आएका पुनको स्थायी घर डाडागाउँ भएपनि केही समययता अदिभारामा बस्दै आउनुभएको थियो । उहाँकी श्रीमतिको केही महिना अघि निधन भएको थियो ।

Leave a Reply