---Advertisement---

५ सय रोपनी खेतीयोग्य जमिन बगरमा परिणत (फोटो फिचर)

On: December 15, 2020 10:21 AM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका-८ कुईनेमंगले दुवाडीका मनबहादुर छन्त्यालको घर नजिकै रहेको फाँटको खेतीयोग्य जमिन बाढीपहिरोको कटानले बगरमा परिणत भयो। बस्ती माथिबाट रातोपानी पाखाबाट खसेको पहिरोले मनप्रसादसँगै निलप्रसाद छन्त्याल, मंगली विक, कर्मान छन्त्याल, चन्द्रबहादुर छन्त्याल,मनिप्रसाद छन्त्याल लगायत २१ घरपरिवारको ५ सय रोपनीमा लगाइएको आलु लगायतका अन्नबाली नष्ट भयो । मनप्रसाद र निलप्रसाद बाबुछोरा हुन् । अघिल्लो रातसम्म खेतका फाँटमा काम गरेका स्थानीयले गएको असार महिनाको २७ गते रातीको अबिरल बर्षासँगै खसेको पहिरोले खेतीबारीसँगै तीनवटा पशुचौपायाको गोठ समेत बगायो।

‘बाढी बस्तीमै प्रवेश गर्दा चारघर पूर्णरुपमा विस्थापित भए,‘खेतीपाती गर्ने जमिन पनि छैन’मनप्रसाद छन्त्यालले भने। करिब २ सय रोपनी जमिन नै पहिरोले पुरिदिएपछि हातमुख जोड्ने समस्या भएको उनले बताए ।दुवाडी गाउँमा बाढीको जोखिममा रहेका करिब ७ घरधुरी समेत बैकल्पिक बासस्थानको खोजीमा रहेका छन्। आलु खेतीका लागि पकेट क्षेत्र मानिने दुवाडीका स्थानीयको खेतीबारी नै बाढीपहिरोले बगाएपछि बगरबाटै आवत–जावत गर्ने गरेका छन्।‘खेतबारी बगरमा परिणत भयो,‘अब छाक टार्न पनि हम्मेहम्मे हुन्छ’ स्थानीय मंगली विकले भनिन्। स्थानीयले बस्ती माथिबाट अझैपनि पहिरोको जोखिम रहेको बताए ।

यता वडा अध्यक्ष गमना छन्त्यालले गाउँका अधिकांसको एकैठाउँमा रहेको खेतबारी बाढीपहिरोले पुरेपछि समस्या भएको बताए। ‘राहत वितरण भइरहेको छ,‘विस्थापितको पुर्नवासमा ध्यान दिएका छौ,‘खेलकुद मैदान बाहेक बगरको प्रयोग हुने सम्भावना छैन’ उनले भने । वडाभित्रका विभिन्न स्थानमा बाढीपहिरोले ठूलो असर गरेको बताउँदै समस्या समाधानका लागि पहल भइरहेको बताए । बाढीपहिरोबाट विस्थापितको पुर्नवासलाई अर्को बर्खाभित्र सम्पन्न गर्ने उनले बताए ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।