आइतबार म्याग्दी बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय स्नातक तहको चौथो वर्षको प्रवेशपत्र लिन गएका शिव आचार्य निराश भएर फर्किए । क्याम्पसका तत्कालिन स्ववियू उपसभापति इश्वर सुबेदीको चरम लापरवाहीका कारण मालिका गाउँपालिका-६ दिच्याम घर भएका शिव आचार्य अन्तिम बर्षको परीक्षा दिनबाट बन्चित भएका छन् । अन्तिम बर्षको भर्ना सहित आवश्यक शुल्क विद्यार्थी नेता सुबेदीको खातामा पठाएपनि भर्नाको शुल्क क्याम्पसमा उपलब्ध नगराउँदा परीक्षाबाट बन्चित भएका हुन् ।

‘मेरो भविस्य माथि गम्भीर खेलवाड भएको छ,‘मैले अन्तिम समयमा दिन पाइन’ आचार्यले भने । उनले बि.स २०७६ पुस१ गते दरबाङबाट सुबेदीको खातामा भर्ना र परीक्षाको शुल्क जम्मा गरेपनि क्याम्पसलाई नबुझाएको बताए ।

‘सहकारीमा काम गर्ने भएकाले क्याम्पससम्म आउन पाइन्,‘मैले विश्वासमा उहाँलाई पैसा पठाए,‘प्रवेशपत्र लिन जाने क्रममा क्याम्पसमा मेरो भर्ना नै नभएको पाइयो’ आचार्यले भने । उनले आफ्नो सहकारीका कर्मचारी सविना बुढाको नामबाट पैसा जम्मा गरेपनि पटकपटक बुझ्दा क्याम्पसमा बुझाएको विवरण कोठामा भएको बताएपछि ढुक्क भएको बताए ।

‘उहाँलाई विश्वास गरेर नै पैसा पठाएको थिए,‘विद्यार्थीको हितका लागी काम गर्ने भएकाले अरुभन्दा विश्वास लागेको थियो’ उनले भने । २२ हजार ५ सय जम्मा गरेको विवरण सहित आवश्यक जानकारी लिन पटकपटक जानकारी गराएपनि सम्पर्कमा नआएको आचार्यले गुनासो गरे ।

तेस्रो बर्षमा समेत सुवेदीलाई नै सबै शुल्क बापतको रकम उपलब्ध गराएपछि सुवेदीले नै परिक्षा फर्म भरिदिएको कारण आफुले विश्वास गरि उनी मार्फत सहयोग लिन पुगेपनि आफुलाई ठुलो घात गरि परिक्षा नै दिनबाट बञ्चित गराएको आचार्यको दुखेसो छ ।

आफ्नो निकट सम्बन्धका कारण आचार्यले सुबेदीलाई विश्वास गरेर पैसा दिएको बताए । प्रवेशपत्र लिन जाने क्रममा क्याम्पसमा भर्ना नभएको प्रशासनबाट जानकारी पाएलगत्तै सम्बन्धित ब्यक्तिलाई सम्पर्क गर्दा समेत भर्ना भएको जिकिर गरेपछि परीक्षा सुरु भएको पहिलो दिन सोमबार परीक्षा हलमा आफ्नो सिम्बोल नम्बर खोज्न समेत गएको आचार्यले बताए ।

‘परीक्षाकै लागि मैले धेरै अवसरहरुलाई छोडेर बेनी आएको छु,‘परीक्षाको तयारी राम्रो थियो,‘विश्वास गर्दा सबै तयारी चकनाचुर भयो’ आचार्यले दुखेसो पोखे । उनले पैसाभन्दा पनि आफ्नो एकबर्षको तयारी बेकार भएको बताए । ‘उहाँले झुट मात्रै नबोलेको भए मैले परीक्षाको तयारी गर्न पाउने थिए,‘अब समस्याको समाधान कसरी सम्भव छ’ उनले भने ।

क्याम्पस प्रशासनले समेत नियमित विद्यार्थीलाई सम्पर्क गर्नुपर्नेमा सम्पर्क नगरेको भन्दै आचार्यले गुनासो गरे । क्याम्पस प्रसाशनबाट थप अन्य विद्यार्थीले समेत परीक्षा दिन बन्चित भए वा नभएको भन्ने विषयमा औपचारिक रूपमा कुनै जानकारी गराएको छैन् । यस विषयमा बुझ्ने प्रयास गर्दा विद्यार्थी नेता सुबेदीसँग सम्पर्क हुन सकेन् ।

Leave a Reply