नेपाल पत्रकार महासंघ बागलुङको आफ्नै भवन मंगलबार उद्घाटन भएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महासंघको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।बागलुङका पत्रकारहरु संगठित हुन सुरु गरेको २० वर्ष देखि नै देख्दै आएको

‘आफ्नै घर’ को सपना अहिले आएर पूरा भएको छ । यो अवधिमा भवन निर्माणका लागि प्रत्येक नेतृत्वले प्रयास नगरेको होईन तर विभीन्न कारणले सम्भव हुन सकिरहेको थिएन । शिलन्यास भएको करिब चार वर्षमा भवनको निर्माण पूरा भएर पनि सुविधा सम्पन्न कार्यक्रम हल तयार भएको छ । आधुनिक सूचना केन्द्र निर्माणको अन्तिम चरणमा पुगको छ ।

नेपाल पत्रकार महासंघले दुई तलाको सुविधा सम्पन्न भवन निर्माण गरेको छ । ‘२० वर्षदेखि हाम्रा अग्रजहरुले देख्दै आउनुभएको आफ्नै भवनको सपना हामीले हाम्रो कार्यकालमा पूरा गर्न सफल भएका छौं,’ नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले भने,‘सबैको सहयोग र सहकार्यबाट यो सफल भएको छ । हाम्रो लागि यो ठूलो उपलब्धी र सफलता हो ।’

नवनिर्मित भवनमा महासंघले सहयोगदाताको नामावली सहितका शिलालेख, पत्रकार महासंघको लोगो सहितको स्मारक पनि बनाउने कार्य पूरा गरेको छ ।

भवन निर्माण गर्नका लागि एक करोड ३० लाखको हाराहारीमा खर्च लागेको शिरीषले बताए । ‘हामीले भवन शिलन्यास गर्दै गर्दा कत्ति पनि पैसा हामीसंग थिएन,’ उनी भन्छन्,‘ हामीले ‘हामी सबैको रहर पत्रकार महासंघको आफ्नै घर’ भन्ने अभियान सञ्चालन गरेपछि विभीन्न व्यक्ति, संघ संस्था, स्थानीय तह, सरकारी कार्यालय र सरकारका निकायहरुबाट पनि सहयोग भयो । हामीले आफ्नै कार्यकालमा यो भवनका सपना पूरा गर्न सक्यौं ।’

अग्रज, समकालिन, अनुज सबै पत्रकारहरुको अभूतपूर्व एकता र सबै क्षेत्रका व्यक्ति संस्थाको सहयोगबाट काम फत्ते गर्न सफल भएको उनी बताउँछन् । पत्रकार महासंघको भवनमा दुई सय बढि व्यक्ति अटाउन सक्ने क्षमताको सभाहल छ । पत्रकारलाई समाचार लेखनसंगै अन्य व्यक्तिहरुले समेत उपयोग गर्न सक्ने गरी आधुनिक सूचना केन्द्र बन्नेक्रम जारी छ ।

‘सूचना केन्द्र बनिसकेपछि हाम्रो पत्रकार साथीहरुले यही बसेर समाचार लेख्ने र आफ्नो सञ्चार गृहमा पठाउनसक्नेछन्,’ पत्रकार महासंघ बागलुङका सचिव राम थापाल अविरलले भने,‘त्यसले श्रमजिवी पत्रकारहरुलाई विभीन्न समयमा काम गर्न समस्या परेको बेला सहज हुने विश्वास छ ।’ भवन निर्माणका लागि आवश्यकमध्ये आधा भन्दा बढि रकम विभीन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गरेको महासंघका कोषाध्यक्ष विजय रानाले बताए ।

‘तीन तहको सरकार र त्यस अन्तर्गतका निकायबाट ५५ लाख जति सहयोग भएको छ,’ उनले भने,‘अन्य सहयोग विभीन्न संघ संस्था र व्यक्तिगत सहयोगको आधारमा संकलन गरिएको छ । यसमा हाम्रा पत्रकार साथीहरुले पनि दायित्व बहन गर्नुभएको छ ।’ भवनका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट गरी ५५ लाख ४६ हजार सहयोग प्राप्त भएको छ ।

संघ संस्थाबाट १३ लाख, सामाजिक व्यक्तित्वबाट १३ लाख, संस्थागत क्षमता विकास कार्यक्रमबाट १० लाख, पत्रकार सञ्चारकर्मीबाट मात्रै ८ लाख भन्दा बढि सहयोग संकलन गरेर भवन निर्माणका कार्य पूरा भएको छ । निवर्तमान अध्यक्ष मुकेश राजभण्डारीको कार्यकालमा अन्तिम समयमा जग्गा प्राप्ती गरेर भवन शिलन्यास गरिएको थियो ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र तत्कालिन बागलुङ नगरपालिकाका कार्यकारी अधिृकत युवराज अधिकारीको सहयोगमा जग्गा व्यवस्थापनको काम पूरा भएको राजभण्डारी सम्झन्छन् ।

‘हामी धेरै मेहनत गरेर थुप्रै ठाउँहरुमा जग्गा हे-यौं,’ उनले भने,‘अन्तमा तत्कालिन सिडीओ साप र नगरपालिकाका कार्यकारी अधिृकतको सक्रियतामा यो ठाउँमा जग्गा प्राप्त भयो ।’ जिल्ला बाल कल्याण समितिको नाममा रहेको ५ आनाजग्गामा ५० वर्षको लागि भोग चलन सम्झौता गरेर महासंघको भवन निर्माण गरिएको छ ।

Source: baglungpost.com

Leave a Reply