बजेट अभावका कारण भूकम्पबाट क्षती भएको बिद्यालयको जिर्ण भवनको पुननिर्माणको अवसरलाई सदुपयोग गर्न म्याग्दीका सरोकारवाला निकायले जोड दिएका छन् । ०७२ सालको विनाशकारी भूकम्पका कारण भत्किएका विद्यालय पुननिर्माणमा गुणस्तरहिन काम गरेको गुनासो समेत आउन थालेको बताउँदै पूर्वाधारमा हेचेक्राई र ठेकेदार खोज्ने प्रबृत्तिको अन्त्य गर्न माग गरेका हुन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीले भवन पुननिर्माणमा संलग्न उपभोक्ता समितिका पदाधिकारीहरुका लागि आयोजना गरिएको अभिमूखिकरण कार्यक्रममा कार्यक्रमको उदघाटनका अवसरका जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले विद्यालय भवन पुननिर्माणका लागि प्रयाप्त बजेट भएकाले सदुपयोग गर्न अनुरोध गरे ।

भौतिक पूर्वाधारको विस्तारले गुणस्तरीय शिक्षाका लागि सहज हुने प्रमुख केसीको भनाई छ । ‘जिम्मेवारी बोधका साथ निर्माणको काम गर्नुहोस्, यो अवसर सधै आउँदैन’ प्रमुख केसीले भने । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले ठेक्का दिएर कमशल रुपमा विद्यालय भवन निर्माण गरेको भन्ने गुनासो आएको बताए ।

उपभोक्ता मार्फत गुणस्तरीय भवन निर्माणको विश्वासका साथ प्रअ र व्यवस्थापन समिति सँग सम्झौता गरेर बजेट पठाएकाले त्यहि अनुरुप काम गर्न प्रजिअ अधिकारीले अनुरोध गरे । भूकम्पले क्षति पुगेका कक्षा कोठा,शौचालय भवन र खानेपानीका संरचना पुननिर्माण कार्यलाई गुणस्तीय बनाउन सघाउने उद्देश्यले बेनीमा बुधवार देखि तिनदिने अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रममा निर्माणधिन ३४ विद्यालयका उपभोक्ता समितिका पदाधिकारी,प्रअ र निर्माणमा सहभागि मजदुरहरुको सहभागिता रहेको छ । आयोजनाका प्रमुख तुलाराज चौलागाईले कार्यालयको प्रगतिप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले हाल सम्म २८ करोड ५२ लाख रुपैयाँको लागतमा २४ वटा ४ कोठे,२२ वटा २ कोठे,९ वटा ३ कोठे गरी ५५ वटा भवन पुननिर्माण भइसकेको जानकारी दिनुभयो ।

यसैगरी चालु आर्थिक वर्षमा ३७ वटा ४ कोठे,३ वटा ३ कोठे,१० वटा २ कोठे भवन,२८ वटा शौचालय र २५ वटा खानेपानीका योजना निर्माधिन अवस्थामा रहेको जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन कार्यालयका इन्जिनियर विष्णु रिजालले गर्नुभएको थियो । विद्यालयको भवन अपांगमैत्री, वातावरणमैत्री, बालबालिकामैत्री रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले जनाएको छ ।

Leave a Reply