नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको धौलागिरी बन्दको प्रभाव म्याग्दीमा आंशिक परेको छ। पर्वत कारागारमा रही उपचारका क्रममा मृत्यु भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा म्याग्दीका नेता गजेन्द्र पुन ‘जगत’को शंकाष्पद मृत्यु भन्दै शुक्रबार गरिएको बन्दले म्याग्दीको बैक तथा वित्तिय संस्था, शैक्षिक संस्था, छोटो तथा लामो दुरीको यातायात बन्द भएपनि बेनीबजारका पसल खुलेका छन् ।

म्याग्दीबाट देशका विभिन्न जिल्लामा विहानै छुट्ने सवारी ठप्प रहे पनि उज्यालो भएपछि सदरमुकामा आसपासका क्षेत्रका सडकमा सवारी सञ्चालनमा आएका छन् । मोटरसाइकल र अतिआवाश्यकीय सवारी भने निर्वाध सञ्चालन भएका छन् ।

सुरक्षाकर्मीको टोलीले गस्ती गरिरहेको छ । बन्दको पूर्वसन्ध्यामा विगतमा हुने आगजनी, तोडफोड लगायतका हिंसात्मक घटना नभएका कारण जिल्लाभित्रको अवस्था शान्तिपूर्ण रहेको छ ।

शुक्रबार पार्टीको धौलागिरी व्युरो ईन्चार्ज राजनले जारी गरेको विज्ञप्तीमा पुनको मृत्युको बारेमा सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कार्वाहीको दायरामा ल्याउन माग गर्दै पौष ३ गते भोली धौलागिरी बन्दको आव्हान गरेको बताएका थिए ।

हिरासतमै रहँदा शारीरिक र मानसिक रुपमा यातना दिइएका कारण गम्भिर विरामी हुन पुगेका पुनको उपचारमा विप्लवको मान्छे भन्दै चरम लापरवाही गरी उपचार समेत नगरेको अवस्थामा मानवअधिकारकर्मी, कानुनविद् एवं सम्बन्धित निकायलाई सत्यतथ्य छानविनको माग समेत गरिएको छ ।

यस घटनामा पार्टीका केन्द्रिय महासचिव विप्लवले नै विज्ञप्ती जारी गरेकाले म्याग्दीमा विप्लव समुहको गतिविधि बढ्ने अनुमान गरिएको छ । म्याग्दीको ग्रामिण क्षेत्रमा विप्लव समुहको उपस्थिति रहेपनि सुरक्षा निकायले समेत निगरानी बढाएका छन् । म्याग्दी जिल्ला धौलागिरीका अन्य जिल्लाको तुलनामा विप्लव समुहको प्रभाव रहेको जिल्ला मानिन्छ ।

 

Leave a Reply