जिल्ला कारागार, कास्कीका प्रतिनिधि मंसिर २८ गते गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन कहाँ पुगे । र, आग्रह गरे, ‘म्याग्दीका जगेन्द्रलाई पोखरा अस्पताल त ल्याइयो तर भेन्टिलेटरले मात्र सास धानेको छ ।’

सरकार र कारागारले लापरबाही गरेकाले यो अवस्था आएको भन्दै परिवारले आरोप लगाइरहेको उनीहरुले सुनाए । ‘हाम्रो कुनै कमजोरी छैन । अस्पताल ल्याउँदा अवस्था खराब भइसकेको थियो,’ जेलर केशव लामिछाने र अर्का एक जनाले सामाजिक विकासमन्त्रीलाई भने, ‘तपाईंले परिवारलाई बुझाइदिनुपर्‍यो ।’

मन्त्री पुनले भनिन्, ‘मलाई पनि आफन्तले भनेका थिए । अब के नै गर्न सकिन्छ ?’ कारागारको टोलीले भने, ‘तपाईंको त आफन्त पनि पर्छन् । तपाईंले समन्वय गरिदिनुपर्‍यो ।’

उनले आफ्नो तर्फबाट परिवारलाई के गर्न सकिन्छ सल्लाह गर्ने बताइन् । तर, भोलिपल्ट पर्वत कारागारमा रहेका नेत्र विक्रम चन्द नेतृत्वको नेकपा म्याग्दी जनसरकार प्रमुख जगेन्द्र पुनको उपचारकै क्रममा मृत्यु भएको खबर आयो ।

उनको शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमा छ । अस्पताल प्रांगणमा बिलखबन्दमा छन्, उनका छोरा, भाइ र आफन्त ।

उच्च रक्तचापले हानेर मंसिर २४ गते अस्पताल ल्याइपुर्‍याइएका पुनलाई भेन्टिलेटरले पनि बचाउन सकेन । उनका छोरा र आफन्त पुनको मृत्युलाई सहज मान्न सकिरहेका छैनन् र, शव बुझेका छैनन् ।

जगत भनेर चिनिने जगेन्द्रबहादुर प्रतिवन्धित नेत्र विक्रम चन्द नेतृत्वको म्याग्दी जनसरकार प्रमुख थिए । विभिन्न मुद्धामा प्रक्राउ पर्दै-छुट्दै आएका जगेन्द्र अभद्र मुद्धामा दोषी ठहर भइ पर्वत जिल्ला कारागारमा थिए । कारागारमै रहेका ५४ वषर्ीय जगेन्द्र एक्कासी उच्च रक्तचापले ढले । काराकारकै क्लिनिकमा उनको उपचार नहुने भएपछि पर्वत जिल्ला अस्पतालमा पुर्‍याइएयो । बिरामीको अवस्था गम्भीर भएको भन्दै पर्वत अस्पतालले पोखरा रिफर गर्‍यो । पर्वतका कैदी बन्दीलाई उपचारका लागि पोखरा लैजानु पर्ने भएपछि कारागारबीच समन्वय भयो ।

जिल्ला कारागार कास्कीको जिम्मा लगाएर जगेन्द्रलाई पोखरा ल्याउँदा केही समय बितिसकेको थियो । पश्चिमाञ्चल अस्पताल पुर्‍याउँदा चिकित्सकले भने, ‘उहाँको टाउकोमा रगत जमेको छ र तुरुन्त अप्रेसन गर्नुपर्छ ।’ तर जगेन्द्रका आफन्त सम्पर्कमा थिएनन् । परिवारका सदस्यहरु सम्पर्कमा आउँदासम्म जगेन्द्रको अवस्था खराब भइसकेको थियो र उनलाई भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आयो । २९ गते जगेन्द्रको भेन्टिलेटरमै ज्यान गयो ।

मृतकका छोरा र आफन्तको गम्भीर आरोप छ, ‘सरकारले प्रतिशोध साँधेरै समयमा अस्पताल नल्याउँदा ज्यान गयो । अस्पताल ल्याउनुपर्ने गम्भीर बिरामीलाई पर्वतबाट कास्की कारागार पठाइयो । उनले समयमै उपचार नपाएर ज्यान गुमाए ।’

कारागार प्रशासनले रक्तचापका कारण जगेन्द्रको ज्यान गएको बताएको छ । ‘थुनामै रहेका जगेन्द्रको उपचारका लागि कारागार पर्वत र कास्की समन्वय गर्नुपर्ने भएकाले विभागकै समन्वयमा हामीले बुझेका हौं,’ कास्की कारागारका जेलर, ‘अप्रेसन गर्न जिम्मा लिने मान्छे हुनुपर्‍यो । आफन्त सम्पर्कमै आएनन् । बिरामीको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमै राख्नुपर्‍यो ।’

टाउकोमा रगत जमेको देखिएपछि बाँच्ने, नबाँच्ने निश्चित नभएपछि परिवारको सहमतिबिना अस्पतालले पनि अप्रेसन गर्न नसकेको बताउँछ ।

सरकारको नियन्त्रणमा रहेका व्यक्ति बिरामी पर्दा समयमा परिवारलाई समयमा जानकारी नदिएको, समयमै अस्पताल पुर्‍याउनुको सट्टा कारागार सार्ने प्रक्रियामा लागेको उनका जेठा छोरो तेजेन्द्रको आरोप छ । घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक नगर्दासम्म शव नबुझ्ने साइँला छोरा विनोदले बताए ।

‘दाइ कतिबेला बिरामी हुनुभयो ? कतिबेला अस्पताल ल्याइपुर्‍याइयो ? सुरुमा ढल्दा कस्तो अवस्था थियो र ज्यानै ज्याने अवस्था किन आयो ? यो बीचमा कहाँ कहाँ दौडाइयो भन्ने यथार्थ नबताउँदासम्म शव बुझ्दैनौं,’ जगेन्द्रका भाइ थमबहादुरले भने, ‘ज्यान ठूलो हो कि कारागार ? किन उपचारमा ढिलाइ भयो ?

कास्कीका जेलर केशव लामिछानेले जगेन्द्रको उपचारमा कुनै लापरबाही नभएको बताउँछन् । केन्द्रीय कारागार विभागमा घटनाबारे जानकारी गराइसकिएको लामिछानेले बताए ।

छोराहरुले भने कारागारमा ढलेपछि परिवारलाई खबर नगरिएको बताए । ‘हामीलाई लागेको थियो, एक दिन बा काराकारबाट फर्किन्छन्,’ छोराहरुले भने, ‘अब कहिल्यै नफर्किने गरी गए ।’ जगेन्द्रका परिवारले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, नागरिक समाज लगायतमा निवेदन दिइसकेको आफन्त भवीसरा पुनले जानकारी दिइन् ।

पटक-पटक छाड्दै-पक्रिँदै

जगेेन्द्र पछिल्लो ७ महिना प्रहरी हिरासत र कारागारमै रहेको परिवारले जनाएको छ । अदालतबाट धरौटीमा छाड्ने र गेटबाटै फरि प्रहरीले पक्राउ गर्ने क्रम निरन्तर चलिरहेको थियो ।

म्याग्दी मालिका गाउँपालिका वडा नम्बर ३ अधिभारामा ९ फागुन २०७६ मा जगेन्द्र पक्राउ परेका थिए । जगेन्द्रलाई अभद्र मुद्धामा घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनलाई चैत १८ गते १८ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने गरियो । त्यसको लगत्तै गौवध मुद्धामा पक्राउ गरिएको परिवारले बताएको छ ।

सो मुद्धामा ५४ हजार धरौटी तिरेर १८ असोज २०७७ मा जगेन्द्रलाई रिहाई गर्ने फैसला भयो । फेरि अभद्र मुद्धामा पक्राउ गरि जगेन्द्रलाई थुनामा राखिएको र १ लाख १८ हजार धरौतीमा रिहाइ गर्ने फैसला भएकोे परिवारको भनाइ छ ।

धरौटी तिर्ने रकमसमेत नभएपछि जगेन्द्रको नाममा रहेको जग्गा जिल्ला प्रशासन कार्यालय म्याग्दीको पत्रानुसार मालपोतमा जग्गा रोक्का गरी उनलाई रिहाई गरिएको परिवार बताउँछ । अहिले पनि जग्गा रोक्का रहेको छोराहरुले बताए । फेरि त्यसको लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतले उनलाई पक्राउ गरेको थियो ।

अभद्र मुद्धामा पक्राउ परेका जगेन्द्रलाई जिल्ला अदालत पर्वतले ५४ हजार रुपैयाँ धरौटीमा रिहाई गर्ने फैसला गरेको र धरौटी तिर्न नसकेपछि थुनामा राख्ने आदेश भएको परिवारको भनाइ छ । ‘पछिल्लो ७ महिना पक्राउ छोड्दै-पक्राउ गर्दै बुवाको हुर्मत लिइएको थियो,’ उनका छोरा तेजेन्द्रले भने, ‘अहिले पर्वत कारागारमा हुँदाहुँदै बिरामी पर्नुभयो र समयमै उपचार नपाएर ज्यान गुम्यो ।’

जग्गा धरौटी तिर्न नसकेर रोक्का भएको र पटक पटक बुवा पक्राउ परेको पीरले २ महिना अगाडि आमाको पनि ज्यान गएको उनले बताए । ‘जग्गा रोक्का छ । आमा बुवाकै पीरले बित्नुभयो,’ उनले भने, ‘अब बुवाको पनि ज्यान गइसकेको छ ।’

जगेन्द्रका ४ छोरा छन् । जगेन्द्र बिरामी परेर पोखरा ल्याइएदेखि २ जना छोरा र आफन्त पोखरामै छन् । तत्कालीन माओवादीमा संलग्न रहेको भन्दै पक्राउ परेर १९ महिना जेल परेका जगेन्द्र शान्ति सम्झौता लगत्तै रिहाई भएको परिवारले जनाएको छ ।

दोस्रो संविधान सभाको निर्वाचन यता जगेन्द्र ९ पटक प्रहरीबाट प्रक्राउ परेको छोराहरुले बताए । जगेन्द्रको मृत्युपछि विप्लवका नाममा विज्ञप्ति जारी गर्दै मानव अधिकार आयोगलाई घटनाको छानबिन गर्नसमेत माग गरेका छन् । Source onlinekhabar.com

Leave a Reply